थाइल्याण्डमा पूर्वप्रधानमन्त्रीकी ३७ वर्षीया छोरी सिनावात्रा प्रधानमन्त्री निर्वाचित
बैंकक । थाइल्याण्डको संसद्ले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३७ वर्षीया छोरी पाएथोङथान सिनावात्रालाई शुक्रवार प्रधानमन्त्री चयन गरेको छ। पाएथोङथान थाइल्याण्डकी दोस्रो महिला प्रधानमन्त्री बनेकी छन्। गठबन्धनमा रहेका अन्य १० दलमध्ये कुनै पनि दलले वैकल्पिक उम्मेदवार अघि नसारेपछि फिऊ थाई पार्टीले बिहीवार पाएथोङथानलाई आफ्नो उम्मेदवार चयन गरेको थियो।
फिऊ थाई पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा परिवारका तेस्रो सदस्य पाएथोङथानलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत अनुमोदनका लागि शुक्रवार नै संसद्मा पेश गरेको थियो।
पाएथोङथानका पिता थाक्सिन र फुपू यिङ लक पहिले नै थाइल्याण्डका प्रधानमन्त्री भइसकेका छन्। थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा पाएथोङथान सबैभन्दा कान्छी नेता हुन्।
निवर्तमान प्रधानमन्त्री स्रेथा थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भन्दै अदालतमा परेको मुद्दामाथि सुनुवाइपछि त्यहाँको संवैधानिक अदालतले दोषी ठहर गर्दै पदमुक्त गरिदिएको थियो।
सेना, राजावादी दलहरू र टेलिकम टाइकुन तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत भएका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री स्रेथाको बहिर्गमन भएको थियो।
थाई संसद्को तेस्रो ठूलो दल भूमजैथाईले शुक्रवारको मतदानमा फिऊ थाईका उम्मेदवारलाई समर्थन गर्न सहमत भएको जनाएको थियो।
सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि पाएथोङथानले होटल व्यवसाय सम्हाल्दै आएकी थिइन् र गत वर्षको आमनिर्वाचनका सबैजसो चुनावी अभियानमा निरन्तर सामेल रहेकी थिइन्।