२५ हजार घुस माग्ने सशस्त्रका सई श्रेष्ठले जातीय विद्वेष फैलाउन खोजेको भन्दै कारबाहीको माग
झापा । जातीय विद्वेष फैलाउन खोजेको भन्दै सशस्त्र प्रहरीका सई केदार श्रेष्ठमाथि राजवंशी समुदायले कारबाहीको माग गरेका छन् । उनीहरूले सिङ्गो राजवंशी जाति समुदायमाथि प्रहार गर्ने टिमाई चेक पोस्टका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक श्रेष्ठलाई जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन अनुसार कारबाही गर्न माग गरेका हुन् ।
राजवंशी समाज विकास समिति बिर्तामोडले आज प्रेस विज्ञप्ति जारी ‘तेरो साउजी राजवंशी मधेसी होइन अब तेरो साहु राजवंशी मधेशीले बाउको बिहे देख्ने भयो ’ जस्तो निकृष्ट शब्द श्रेष्ठले प्रहार गरेको भन्दै त्यसबाट सम्पूर्ण जातिलाई नै चोट पुगेको जनाएको छ । गत साउन १६ गते साँझ ५ बजेतिर सशस्त्र प्रहरी नायव निरीक्षक श्रेष्ठले राजवंशी समुदायका अग्रज तथा शुष्मा काष्ठ उद्योगका प्रोप्राइटर राजु राजवंशी सन्तोषले निजी वनसँग खरिद गरेको काठ लिन गएका उनका चालकहरू रविन राजवंशी र रत्नबहादुर बस्नेतलाई गरेको त्यस्तो दुर्व्यवहार गरेको नगर अध्यक्ष सिरतलाल राजवंशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अब आइन्दा कोही कसै र कुनै पनि जाति समुदायमाथि त्यस किसिमको व्यवहार नहुने वातावरण निर्माणका लागि पहल गरिदिन सरोकारवाला निकायसँग मागसमेत गरिएको छ । साथै सीधा र पछाडि पारिएका जाति भन्दै सधैँ राजवंशीहरूलाई अवहेलना गर्ने कार्य अब उप्रान्त बन्द गर्न चेतावनी दिइएको छ ।
घटना विवरण अनुसार बिर्तामोड–४ स्थित शुष्मा काष्ठ उद्योगले बुद्धशान्ति गाउँपालिका- ६ स्थित नारायणप्रसाद भट्टराईको नाममा रहेको कित्ता नम्बर २९५ र बुद्धशान्ति ५ स्थित कित्ता नम्बर ६८६९ मा रहेको निजी वनबाट उत्पादित सेतो सिरिस, खमारी सिमललगायत प्रजातिका काठ खरिद गरेको थियो ।
निजी वन विकास निर्देशिका, २०६८ को दफा २१ (च) सँग सम्बन्धित निजी वनबाट उत्पादित काठ/दाउरा वा अन्य वन पैदावारको तेरिज अनुसार नै वडा कार्यालयको सिफारिस लिएर सवडिभिजन वन कार्यालय धाइजनको कटान आदेशको सिफारिस लिएर वनको रोहवरमा रुख सङ्ख्याको नम्वरिङ गरी नम्बरी आबादीमा रहेका रुख कटान गरिएको थियो । जसका लागि मेची सब डिभिजन वन कार्यालय धाइजनको च.न. १७६९ (२०८२/१/१५) र च.न. १२६० (२०८१/११/०२) कटान इजाजत पत्रअनुसार रुख कटान गर्दै पुनः वनको रोहवरमा नापजाँच प्रदेश सेवा शुल्क र राज्यलाई कर तिरिएको छ ।
शुष्मा काष्ठ उद्योगकाले साउन १६ गते जिल्ला डिभिजन वन कार्यालय झापाले मिलसम्म स्थानान्तरण इजाजत पत्र दिएपछि काटिएको काठ वनको रोहवरमा पुन थान गन्ती गरी दरपिट गरिसकिएको जम्मा ७९ थान गोलिया काठ मिल लैजाने क्रममा प्र.१–०१– ००१ च ८३३५ र प्र.१–०१–००१ च ८२२१ नम्बरका दुई वटा बोलेरो पिकअपमा लैजाने क्रममा टिमाई चेक पोस्टका सशस्त्रका सई केदार श्रेष्ठले दुःख दिने मनसायले दुवै गाडी रोकी गाडीका चालक बिर्तामोड- ३ निवासी रविन राजवंशी र बिर्तामोड- १ निवासी रत्नबहादुर बस्नेतसँग २५ हजार रुपैयाँ घुस माग गरेको र कागजात दुरुस्त छ तपाईँलाई के को पैसा दिनु पर्यो भनी प्रश्न गर्दा अपराह्न ४ बजेदेखि विना कारण रोकिएका गाडी राति ९ बजेसम्म त्यही राखेको उद्योगका सञ्चालक राजवंशीले बताए ।
त्यसपछि सई केदार श्रेष्ठले फोन गरी सुरुमा केही रकम मिलाई दिनु पर्यो भन्दै मलाई फोन गर्नु भएको भन्दै उनले भने, ‘कागजात दुरुस्त भएको सवारीको को के पैसा दिनु पर्ने भनेपछि भीसीटीएस कागजात नभएकोले २५ हजार रुपैयाँ नदिएमा काठ सहितको गाडी जिल्ला पठाउने भन्दै पटक-पटक धम्की दिनुभयो ।’
‘मैले असई श्रेष्ठलाई पैसा नदिएकै कारण सोही दिन राति मेरा दुई जना चालक सहित सवारी र काठ सशस्त्र प्रहरीको गण भद्रपुर पुर्याएर दुवै चालकलाई थुनेर राखियो,’ उनले भने ।