भद्रपुरका दुई महिला जनप्रतिनिधिबीच हातपात, प्रहरीमा पुग्यो घटना
झापाको भद्रपुरमा एउटै वडाका दुई महिला जनप्रतिनिधिबीच विवाद भई हातपात भएको छ । भद्रपुर नगरपालिका ३ नम्बर वडा कार्यालयका कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाएकी वडा सदस्य भुव माया थापा पुलामी र वडा सदस्य पूर्णमाया सुब्बा (पुनम) बीच हातपात भएको घटना बाहिर आएको हो । दुवै जना राप्रपाबाट निर्वाचित वडा सदस्य हुन् । हातपातको क्रममा छुट्टाउन जाँदा वडा कार्यालयका दुई जना महिला कर्मचारी पनि सामान्य घाइते भएकी छिन् । घटना विवरण अनुसार आज दिउँसो २ बजेको समयमा वडा कार्यालय अगाडिको खाजा पसलमा वडा सदस्य पुलामी, कर्मचारीहरू मनिका बेगा, प्रमीला थुलुङ र गंगा बरालसँगै बसेर खाजा खाइरहेका थिए । सोही बेला वडा सदस्य सुब्बा त्यहाँ पुगिन् । सोही क्रममा वडा सदस्य पुलामी र वडा सदस्य सुब्बाबीच भनाभन भई विवाद बढ्यो र वडा सदस्य सुब्बाले कार्यवाहक वडा सदस्य पुलामीलाई हातपात गरेकी थिइन् ।
हातपातको क्रममा दुवै जना जनप्रतिनिधिलाई छुट्टाउन खोज्दा कर्मचारीहरू मनिका बेगा र प्रमीला थुलुङसमेत सामान्य घाइते भएकी छिन् । घटना पश्चात् वडा सदस्य वडाध्यक्ष पुलामी न्याय माग्दै जिल्ला प्रहरी कार्यालय झापा पुगेकी छिन् । प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भइरहेको जनाइएको छ ।
यता नेपाल निजामती कर्मचारी संगठन झापाले वडा कार्यालयमा कार्यरत कर्मचारीहरूमाथि आक्रमणको प्रयास गरिएको भन्दै विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, जनताको सेवा गर्ने जनप्रतिनिधिहरू जस्तो गरिमामय पदमा आसिन व्यक्तिहरू विचमा भएको कुटपिटमा आफ्नो कर्तव्य सम्झी मदयस्तता गर्ने कर्मचारीहरू माथि नै निर्वाचित जनप्रतिनिधिबाट भएको यस प्रकारको भौतिक आक्रमण निन्दनीय एवं आपत्तिजनक छ ।
यस घृणित कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछौँ ।आक्रमणमा परि घाइते हुनु भएका कार्यवाहक वडाध्यक्ष तथा कर्मचारीहरूको आवश्यक उचित उपचार तथा जिउ धनको सुरक्षा र मनोवैज्ञानिक डर त्रासको उचित व्यवस्थापन गरी आक्रमण, गालीगलौज तथा कुटपिटमा संलग्न जो कोहीलाई हदै सम्मको कानुनी कारबाहीका लागि सरोकारवाला निकायमा जोडदार माग गर्दछौँ ।
यदि यस घटनालाई सामान्य रूपमा लिएर गुण्डागर्दी र अराजकता मच्चाउनेलाई उन्मुक्ति दिने कार्य भएमा हामी सशक्त प्रतिवाद गर्न बाध्य हुनेछौँ भन्ने जानकारी समेत यसै विज्ञप्ति मार्फत दिन चाहन्छौँ ।