सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
इलाम । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा आजदेखि तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’सुरु भएको छ।
सन्दकपुर गाउँपालिकाको आयोजनामा सन्दकपुर–४ कालपोखरीमा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले सन्दकपुरको पर्यटन विकासका लागि प्रदेश सरकारको तर्फबाट विशेष प्राथमिकतामा राखेर योजना ल्याइने प्रतिबद्धता जनाए।
“प्रदेशका सबै जिल्लाका विशेष पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने हाम्रो योजना छ”, मन्त्री पराजुलीले भने, “आगामी नीति तथा कार्यक्रममा यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेछौँ।”
वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर गाउँपालिकाको वार्षिक क्यालेण्डरअनुसार महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए।
“हामीले वार्षिक क्यालेण्डर नै बनाएर विगत तीन वर्षदेखि ‘रेडपाण्डा महोत्सव’ आयोजना गर्दै आएका छौँ, यसपटक पनि निरन्तरता दिएका छौँ”, अध्यक्ष गुरुङले भने, “कार्यक्रमले सन्दकपुरको मात्र होइन, समग्र जिल्लाको पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास लिएका छौँ।”
नेपाल र भारतका पर्यटन व्यवसायीको उपस्थितिमा यही चैत २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकहरूले आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित विभिन्न हिमशृङ्खला, सयौँ प्रजातिका चरा, रेडपाण्डासहितका लोपोन्मुख वन्यजन्तुको अध्ययनसँगै पदयात्रा गर्न पाउनेछन्।