दमकमा एक पुरुष मृत अवस्थामा फेला, हात्तीको आक्रमणबाट मरेको आशङ्का
झापाको दमकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। गत चैत १९ गते बिहान करिब १० बजे बेलडाँगी शिविर सेक्टर नं. सी २ हट नं. २०४ बस्ने ५४ वर्षीय तुलबहादुर विष्ट बाख्राका लागि घाँस काट्न भन्दै घरबाट निस्किएका थिए ।
तर, उनी घर फर्केर नआएपछि आफन्त तथा छरछिमेकले खोजतलास सुरु गरेका थिए । यसै क्रममा आज बिहान ९ बजे दमक नगरपालिका–३ बेलडाँगी शिविर क्षेत्रस्थित सामुदायिक वनभित्र विष्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगेका थिए । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दिउँसो शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा विष्टको मृत्यु जंगली हात्तीको आक्रमणबाट भएको हुन सक्ने आशङ्का गरिएको छ । घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।