दुई मोटरसाइकल ठोक्किँदा आगो लाग्यो, एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु
महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डअन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहा क्षेत्रमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको ज्यान गएको छ भने थप तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विपरीत दिशाबाट आइरहेका मोटरसाइकल आपसमा ठोक्किएपछि दुबैमा आगो लागेको थियो । आगलागीका कारण घटनास्थलमै तीन जनाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नचिनिने अवस्थामा पुगेको जनाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा परेका सबै विद्यार्थीहरू एसईई परीक्षा दिएर घर फर्किँदै गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।