बिर्तामोडमा सडक पेटी खाली गराउँदै नगरपालिका
बिर्तामोड नगरपालिकाले बजार क्षेत्रमा सडक पेटी खाली गराउने अभियान पुनः सुरु गरेको छ । नगर प्रहरीको टोलीले आज कृषिथोक रोडका केही क्षेत्रमा फुटपाथ खाली गराएको हो।
नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै व्यवसायीलाई सटर बाहिर सडक पेटीमा सामग्री नराख्न आग्रह गर्दै आएको थियो। पैदल यात्रु तथा सवारी आवागमनमा अवरोध हुने गरी व्यापारीले फुटपाथ प्रयोग गर्न थालेपछि पुनः ‘फुटपाथ क्लियर’ अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाका अनुसार गत वर्षदेखि नै सुरु गरिएको अभियानलाई निरन्तरता दिइएको हो। उनले भोलिदेखि आवश्यक सबै क्षेत्रमा जनप्रतिनिधिको नेतृत्वमा सडक पेटी खाली गराइने जानकारी दिए।
कृषिथोक रोड क्षेत्रमा पछिल्लो तीन दिनदेखि माइकिङमार्फत सचेत गराउँदा पनि अटेरी गरेपछि सामान जफत गर्न थालिएको नगर प्रहरीका सह–इन्चार्ज टङ्क तिम्सिनाले बताए। कृषिथोक क्षेत्रको सडक पेटीमा सामाग्री राखेर बिक्री वितरण गर्दै आएको कारण पैदल यात्रुलाई असहज भएको सर्वसाधारणको गुनासो थियो ।