आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना
नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ। जसका कारण देशभरको मौसममा फेरबदल आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा सातै प्रदेशका विभिन्न स्थानमा वर्षा मापन गरिएको छ, जसमा पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षा भएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका साथै अन्य पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ। बाँकी तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले उल्लेख गरेकाे छ।