२०८३ बैशाख ३ गते , विहीबार

झापामा मोटरसाइकल दुर्घटना, सशस्त्र सहायक हवल्दारको मृत्यु

sajilo news
पार्थ मण्डल
२०८३ बैशाख १ गते , मंगलबार
झापामा मोटरसाइकल दुर्घटना, सशस्त्र सहायक हवल्दारको मृत्यु

झापा ।  झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटना परी सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१२ घर भएका तथा बाहुनडाँगीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सचिन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिक मदन भण्डारी राजमार्गमा मंगलबार साँझ करिब साढे ५ बजेतिर तिरिङ खोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा भएको थियो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी सहायक हवल्दार तामाङ गम्भीर घाइते भएका थिए। उनको नाक तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा साँझ ६:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–१ निवासी तथा सोही बिओपीमा कार्यरत ४० वर्षीय सशस्त्र प्रहरी हवल्दार डिल्लीराम सुबेदीसमेत घाइते भएका छन् । उनको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार