दमक उद्योग वाणिज्यको साधारसभामा पत्रकार र व्यवसायी पुरस्कृत
दमक । दमक उद्योग वाणिज्य सङ्घको २९ औं वार्षिक साधारण सभाको अवसरमा दुई जना सफल युवा व्यवसायीलाई सम्मान गर्नुका साथै एक जना पत्रकारलाई पुरस्कृत गरिएको छ । सङ्घले उत्कृष्ट व्यवसायीका रुपमा व्यवसायीद्धय इन्द्र सेन अग्रवाल र इन्दिरा बास्कोटा (भट्टराई) लाई सम्मान गरेको हो ।
त्यसैगरी सङ्घको आजीवन सदस्यता प्राप्त गर्ने दमकका स्थापित बिद्युत् व्यवसायी (शुभ श्री इलेक्ट्रीकल्स) तथा लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्सका प्रोप्राइटर दया सागर आचार्य र विष्णु किरानाका प्रोप्राइटर विष्णु साह तेलीलाई पनि सम्मान गरिएको छ । आचार्य र साहले सङ्घको आजीवन सदस्यता लिई जीवनभर व्यवसायमा समर्पित रहने निधो गरेका कारण उनीहरूलाई आजीवन सदस्यता प्रदान गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष एवं साधारण सभा तयारी उपसमिति संयोजक गोपाल गुरागाइँले जानकारी दिए ।
सभाकै अवसरमा दमकको उद्योग व्यवसाय क्षेत्रमा कलम चलाएर सञ्चारका माध्यमबाट योगदान पुर्याए बापत पत्रकार जीवन चुँडाललाई पुरस्कृत गरिएको छ । सङ्घले विगत ४ वर्षयता हरेक वर्ष साधारण सभाको अवसरमा एक जना पत्रकारलाई वाणिज्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।
शुक्रवार आयोजित सभाको अवसरमा उनीहरूलाई नेपाल उद्योग वाणिज्य महासङ्घका गाउँ र नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्य र सङ्घका अध्यक्ष गोकुल श्रेष्ठको सभापतित्वमा आयोजित सभामा वक्ताहरूले शुभकामना मन्तव्य राखेका छन् । सो अवसरमा सङ्घको कार्यसमितिका तर्फबाट विभिन्न प्रतिवेदनहरू पेस भएका र सङ्घका सदस्यहरूबिच बन्द सत्रमा छलफल हुने जनाइएको छ ।