कोठा भाडा लिएर प्रतिबन्धित औषधिको कारोबार, १० लाख बढीको औषधिसहित एक पक्राउ
मोरङ । मोरङको विराटनगर ५ स्थित न्युरो अस्पताल नजिकै रहेको एक घरमा प्रहरीले छापा मारेर ठुलो परिमाणको औषधि बरामद गरेको छ । प्रहरीले नेपालमा प्रतिबन्धित १० लाख भन्दा बढीको औषधिसहित एक जनालाई पक्राउ गरेको प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विशेष सुराकका आधारमा प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साढे ६ बजे रामप्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाइ विक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा उनीहरुको कोठाबाट विभिन्न प्रकारका ७९ ब्रान्डका प्रतिबन्धित औषधि बरामद गरेको प्रहरीले जनाएको छ । जसको बजार मूल्य १० लाख ३ हजार १ सय ८० रुपैयाँको रहेको छ ।
साथै प्रहरीले कोठाबाट औषधिमा टाँस्न प्रयोग गरिने स्टिकर बनाउने एचपि कम्पनीको कलर प्रिन्टर समेत फेला पारेको छ । कोठामा रहेका विक्रम मण्डललाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको बताइएको छ । बरामद गरिएका औषधी र पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाइसकेको प्रहरीले जनाएको छ ।