२०८२ माघ ५ गते , सोमबार

'राजनीतिक अस्थिरता कारण औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण छैन'

sajilo news
पार्थ मण्डल
२०७७ माघ २६ गते , सोमबार
'राजनीतिक अस्थिरता कारण औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण छैन'

भद्रपुर  ।  कोरोना भाइरसको महामारीसँगै देशको निरन्तर राजनीतिक अस्थिरता कारण औद्योगिक क्षेत्रमा लगानी गर्ने वातावरण नभएको व्यवसायीहरूले गुनासो पोखेका छन् ।

झापाको हल्दीबारी गाउँपालिका २ स्थित भेलागढी सिमसार क्षेत्रमा सोमबार आयोजित झापा उद्योग सङ्घ भद्रपुरको २६ औँ साधारणसभा तथा वनभोज कार्यक्रममा बोल्दै व्यवयासीहरुले औद्योगिक क्षेत्रको रुपमा परिचित झापा जिल्लामा उद्योग तथा कलकारखानामा लगानी गर्ने वातावरण नभएको र खोलिएका उद्योगहरू पनि बन्द गर्नुपर्ने अवस्थामा पुगी सकेको बताएका छन् ।
 कुनै समयमा भद्रपुरमा जिल्लाकै ठुला उद्योगधन्दाहरू सञ्चालनमा रहेको इतिहास थियो । हजारौँले रोजगारी पाउँथे । तर, अहिले ती उद्योगहरू बन्द भइसकेको झापा उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले बताए । 'भद्रपुरमा दर्जनौँ चामल मिल थियो,' उनले भने, 'अहिले दुई चार वटा मिल मात्र छ, भद्रपुरलाई अहिले केही चिया उद्योगले धानिरहेको छ ।'  एसियाकै दोस्रो ठुलो मोमेन्टो एपरेल्स (गार्मेन्ट उद्योग) समेत बन्द हुँदा हजारौँ कामदारले रोजगारी गुमाएको उनको भनाई छ ।  
नेपालमा राजनीतिक अस्थिरताका कारण उद्योगी व्यवसायीले खुलेर व्यवसाय गर्न नपाएको झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले गुनासो पोखेका छन् । कोरोनाको महामारी र हाल देशमा देखिएको राजनीतिक खिचातानीले व्यापार व्यवसाय धरायसी वनेको उनले बताए । सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रलाई राज्यले महत्त्वपूर्ण ढङ्गले अगाडी नउठाईकन, उद्योगी व्यवसायीको हक अधिकारसँगै लगानी गर्ने वातावरण नबनाएसम्म देशको अर्थतन्त्र अगाडि बढ्न नसक्नेमा धारणा राखेका छन् । 
कृषिका लागि झापा अग्रणी जिल्लाको रुपमा देशमै परिचित हुँदै आएकोले यहाँ व्यवसायीका लागि धेरै अवसरहरू रहेको उनले बताए ।  भद्रपुर नाका बन्द भएको विषयमा आफूलाई जानकारी नभएकोले यस विषयमा तत्काल सम्बन्धित निकायसँग छलफल गर्ने उनको भनाई छ । सुरक्षित लगानीको वातावरण अझै मुलुकमा नदेखिएको बताउँदै झापा उद्योग सङ्घका अध्यक्ष टीकाराज ढकालले भने, 'सरकारको नीति उद्योगमैत्री नभएकोले उत्पादित वस्तु सजिलै गन्तव्यसम्म पुर्याउन सकिरहेका छैनौँ, निजी क्षेत्रले राज्यलाई जति सहयोग पुर्याएपनि राज्यबाट उद्योगी व्यवसायीलाई त्यस अनुसारको सम्मान गरेको पाइँदैन ।'   
कार्यक्रममा भद्रपुर नगरका मेयर जीवनकुमार श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया, उद्योगी भीम पौडेल, राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका गणेश पोखरेल लगायतले देखिएका निजी क्षेत्रमा देखिएका समस्याका बारेमा आ–आफ्नो धारणा राखेका थिए । 
अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार गोपाल गिरीले गरेका थिए । कार्यक्रममा छिमेकी जिल्लाहरूका उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो । सङ्घमा हालसम्म जिल्लाभरिका  ९० वटा उद्योगहरू आबद्ध रहेको जनाइएको छ ।  
 

सम्बन्धित समाचार