लागुऔषध ट्याब्लेट र गाँजासहित नौ जना पक्राउ
झापा । उदयपुर र सुनसरीका विभिन्न स्थानबाट लागु औषध ट्याब्लेट र ठुलो परिणामको गाँजासहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका९६ जलजलेबाट त्रियुगा नगरपालिका १ का ३२ वर्षीय विदुर अधिकारी, त्रियुगा नगरपालिका १४ का २६ वर्षीय कुमार मगर, त्रियुगा नगरपालिका १३ का २५ वर्षीय सागर चौधरी र सुनसरीका २५ वर्षीय अभिसेक जैसवाललाई लागु औषध ट्याब्लेट सहित पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले डाइजेपाम १९ एम्पुल, फेनारागन १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ ।
त्यस्तै उदयपुरकै त्रियुगा नगरपालिका १२ बाट स्थानीय १५ वर्षीय बालक लागु औषधसहित पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले फेनारगन २ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ ।
उदयपुरकै कटारी नगरपालिका ८ बाट ठुलो परिणामको गाँजासहित तिन जना पक्राउ परेका छन् । सोमवार दिउँसो इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसँगै गाडीमा सवार रहेका ताप्ली गाउँपालिका९ ३ का ४१ वर्षीय सन्त बहादुर मगर, चालक २१ वर्षीय हेम बहादुर मगर र शम्भु मगरलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
त्यसैगरी भोजपुरको हतुवा गढी गाउँपालिका ६ घर भई धरान उपमहानगरपालिका १३ डेरा गरी बस्ने ३४ वर्षीय गुमान राई सवा २ केजी गाँजासहित पक्राउ परेका छन् । राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ केजी २७० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।