२०८२ माघ ५ गते , सोमबार

झापामा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध जाहेरी दर्ता

sajilo news
पार्थ मण्डल
२०७७ माघ २८ गते , बुधबार
झापामा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध जाहेरी दर्ता

झापा । विद्यार्थीमाथि कक्षाकोठामै यौन दुर्व्यवहार गर्ने शिक्षक शालिकराम पोखरेलविरुद्ध जाहेरी दर्ता भएको छ । पीडित बालिकाका तर्फबाट अभिभावक गीता राईले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरेकी हुन् । कमल गाँपालिका–३ सहिद धर्मभक्त माविका शिक्षक पोखरेल र शिव भट्टराईले अधिकांश बालिकालाई कक्षाकोठामै यौन दुर्व्यवहार गर्ने गरेको आरोप लगाएका थिए । यद्यपि एकजना अभिभावकले पोखरेलविरुद्ध मात्रै जाहेरी दिएकी हुन् । दश बढी अन्य विद्यार्थी र अभिभावक यसअघि जाहेरी दिनका लागि आइतबार इलाका प्रहरी कार्यालय दमक आएका थिए ।

उनीहरूले जाहेरी तयारी पारेर दर्ता गर्न प्रहरी कार्यालय जाँदै गर्दा दर्ता गर्न दिइएको थिएन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कमल–३ का वडा सदस्य चक्रबहादुर गुरुङ र शिक्षक–अभिभावक संघ अध्यक्ष लेखनाथ खतिवडाले जाहेरी दर्ता नगरी दबाबमा फर्काएका थिए । शिक्षक पोखरेल ओली समूहमा अवद्ध भएका कारण उनका विरुद्ध जाहेरी दिन गुरुङ र खतिवडाले रोक लगाएका हुन् । गुरुङ तत्कालीन एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् भने अहिले ओली समूहको नेकपामा छन् । खतिवडा पनि ओली समूहको नेकपाका स्थानीय नेता हुन् । 

विद्यालय व्यवस्थापन समितिले सोमबार बिहान विद्यालयमा कार्यपालिका सदस्य, गाउँपालिका शिक्षा शाखा, अभिभावक, विद्यार्थी र शिक्षकसहितको बैठक राखेर दुवै शिक्षकलाई माफीसमेत मगाए । माफी मागेपछि शिक्षक भट्टराईले सोही विद्यालयमा पढाने सहमति भएको छ भने पोखरेललाई अन्तै सरुवा गर्ने सहमति भएको छ । 

अरू बालिका र अभिभावकले भने जाहेरी दर्ता नगर्ने प्रतिबद्धता जनाएका छन् । ‘विद्यार्थीकै माग बमोजिम सहमति भएको छ । शिव सरको विषयमा समस्या छैन उहाँले यहीँ पढाउनुहुन्छ भनेर विद्यार्थीले भने शालिक सरको विषय उहाँको परिवारिक समस्या छ । काठमाडौं गइरहनपर्छ । तत्काल बिदा बस्ने र आवश्यकता अनुसार काठमाडौं सरुवा जाने भन्नुभएको छ,’ कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले भने, ‘सोमबारको बैठकमा शिक्षकहरुले अभिभावक भर पढाउने क्रममा तिमीहरुलाई चोट परेछ । यसमा क्षमता चाहान्छौँ भन्नुभयो ।’

यद्यपि राईले भने माफी माग्दैमा न्याय नपाइने भएका कारण जाहेरी दर्ता गराएको बताइन् । ‘मलाई पनि स्कुलमै मिल्नुपर्छ भन्दै थिए । तर, मलाई त्यसमा न्याय हुँदैन जस्तो लाग्यो । शालिकराम सरले मेरो नानीलाई दुर्व्यवहार गर्नुभएको रहेछ,’ उनी भन्छिन्, ‘त्यसकारण मैले उहाँविरुद्ध जाहेरी दिएको हुँ । न्याय पाने आश गरेकी छु ।’

पोखरेल विगत दुई दशकदेखि सहिद धर्मभक्त माविमा शिक्षण पेशा गर्दै आएका छन् । उनी प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक नभएका कारण मावि तहमा पनि उनी नेपाली विषय अध्यापन गराउँदै आएका थिए । विगतदेखि नै विद्यार्थीलाको संवेदनशील अंग छुने, अनावश्यक शरीरमा छुने, मसार्नेलगायतका गतिविधि गर्दै आएको पीडित पीडित विद्यार्थीले गुनासो गरेको यसअघि नयाँ पत्रिका दैनिकले पटक–पटक समाचार प्रकाशन गर्दै आएको थियो । 

शिक्षक पोखरेलविरुद्ध जाहेरी परेकाले तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए । ‘एक जना शिक्षकविरुद्ध मात्र जाहेरी आएको छ । जाहेरी नआई अर्का शिक्षकलाई हामी केही गर्न सक्दैनौँ,’ उनले भने, ‘अब तत्काल पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।’ आजको नयाँ पत्रिकमा चिरञ्जीवी घिमिरेले यो समाचार लेखेका छन् । 

सम्बन्धित समाचार