भद्रपुरमा मोटरसाइकल चोरी गर्ने एक किशोर पक्राउ
भद्रपुर । भद्रपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ५ बस्ने १७ वर्षीय किशोर रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार भद्रपुर ३ स्थित मेचीपारि जोडने झोलुङ्गे पुल नजिकै पार्किङ गरी राखिएको भद्रपुर ३ निवासी बलबहादुर तामाङको मे ८ प ६७६२ नम्बरको सेतो रङको अपाची मोटरसाइकल बुधवार बिहान ११ बजे चोरी भएको थियो ।
मोटरसाइकल पार्किङ गरी नजिकैको चिया बगानमा पानी हाल्न गएका तामाङ फर्किएर आउँदा त्यस ठाउँमा मोटरसाइकल नदेखेपछि तत्काल वडा प्रहरी कार्यालय भद्रपुरलाई जानकारी गराएका थिए । मोटरसाइकल चोरी भएको घटना भए लगतै प्रहरी टोली खोजी कार्यमा जुटे । दिउँसो साढे ३ बजे ती किशोरले मोटरसाइकल चलाइरहेको फेला परेपछि उनलाई प्रहरीले खेदाएका थिए । प्रहरीले खेदाएपछि उनी मोटरसाइकल छाडेर भागेका थिए । त्यसपछि पसलमा राखिएको सिसी क्यामेराको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरीले पक्राउ गरेका किशोर र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको छ । यसअघि पनि ती किशोरले भद्रपुरको वधशाला अगाडीमा एउटा स्कुटर चोरी गरेको आरोप लागेका थियो । प्रहरीमा जाहेरी परेपछि आवश्यक कारबाही अघि बढ्ने प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । मुलुकको कानुनमा १८ वर्ष भन्दा मुनिका बालबालिका पर्ने भएकोले उनको नाम खुलाउन नमिल्ने उनले बताए ।