२०८२ माघ ५ गते , सोमबार

झापामा लागूऔषध कारोबारी छुटाउन पार्टीकै नेता, केन्द्रीय सदस्यसहित चार पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २ गते , आईतबार
झापामा लागूऔषध कारोबारी छुटाउन पार्टीकै नेता, केन्द्रीय सदस्यसहित चार पक्राउ

झापा । लागूऔषध कारोबारीलाई छुटाउन गएका जनमत पार्टीका केन्द्रीय सदस्यसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  जनमत पार्टीका केन्द्रीय सदस्य ५० वर्षीय कौशीला महतोसहित चार जनाले प्रहरीमाथि हातपातसमेत गरेका प्रहरीले जनाएको छ। लागूऔषध गाँजासहित पक्राउ परेका एक व्यक्तिलाई जबर्जस्ती लैजान खोजेपछि रोक्न खोज्दा प्रहरीमाथि नै हातपात गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

पक्राउ पर्नेमा यस पार्टीका केन्द्रीय सदस्य महतो, गौरीगञ्ज गाउँपालिका–३ हुक्कागाछी बस्ने २७ वर्षीय जितेन्द्र महतो, सोही ठाउँका ६७ वर्षीय दशरथ मुखिया र गौरीगञ्ज–२ बस्ने २४ वर्षीय श्याम राजवंशी छन्। प्रहरीका अनुसार सादा पोसाकमा खटिएका प्रहरी टोलीले विशेष सूचनाका आधारमा शनिबार बेलुका ५ बजेको समयमा गौरीगञ्ज–३ स्थित हुक्कागाछी चोकमा राजवंशीलाई गाँजासहित पक्राउ गरेको थियो। 

पक्राउ परेका राजवंशीलाई छुटाउन घटनास्थल पुगेका उनीहरूले सादा पोसाक र इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी टोलीमाथि हातपातसँगै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। प्रहरीमाथि हातपात गर्ने उनीहरूलाई अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

सम्बन्धित समाचार