मेची रङ्गशालामा फागुन ७ देखि प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता
झापा । मेची रङ्गशाला भद्रपुरमा प्रथम मेयर कप नगर स्तरीय टीट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन ७ अर्थात् ७१ औं प्रजातन्त्र दिवसको अवसरमा जिल्लाकै सदरमुकाम भद्रपुर नगरपालिकामा पहिलो पटक मेयर कप नगर स्तरीय टीट्वान्टी लीग क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान, भन्ने नाराका साथ भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको क्रिकेट उपसमितिले उक्त प्रतियोगिता गर्न लागेको समितिका संयोजक श्यामकुमार राउतले जानकारी दिए । झापा जिल्ला खेलकुद विकास समितिको कार्यालय भवनमा बुधवार दिउँसो पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीका बारेमा जानकारी गराइएको हो । क्रिकेट खेललाई अघि बढाउने तथा खेलाडीहरूको पहिचान गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर नगर स्तरीय प्रतियोगिता गर्न लागेको उनले बताए ।
फागुन १५ सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार र उपविजेता टिमलाई नगद १५ हजारसहित ट्रफि प्रदान गरिने समितिका सदस्य राजन भट्टराईले जानकारी दिए । त्यस्तै उत्कृष्ट बलर, उत्कृष्ट व्याटस्मेन, म्याद अफ द म्याच, म्याद अफ द सिरिज हुने खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।
यस प्रतियोगिताका लागि नगरपालिकाले २ लाख आर्थिक सहयोग गर्नेछ । त्यसबाटै खेल मैदान मर्मत, मेटसहित क्रिकेट सामग्री व्यवस्थापन, पुरस्कार व्यवस्थापन, प्रचारप्रसार, खाजा लगायतको व्यवस्थापन गरिने उनको भनाई छ । अहिले १० वटै वडा कार्यालयमा खेलाडीसहित टिम छनोटका लागि पत्राचारसहित खेल मैदान मर्मत सम्भारको काम तीव्र गतिमा भइरहेको समितिका सदस्य तुलसी कार्कीले जानकारी दिए । प्रतियोगिता आइसिसीको नियम अनुसार खेलाइने र एक दिनमा दुई वटा खेल आयोजना गरिएको उनको भनाई छ ।
समितिका अध्यक्ष राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले सङ्घीयता पश्चात् पहिलो पटक नगरमा मेयर कप क्रिकेट प्रतियोगिता हुन लागेको बताए । जिल्लाकै एक मात्र मेची रङ्गशाला पछिल्लो समयमा ओझेलमा पर्दै गइरहेकोले यसलाई टिकाउ र बचाउन यस प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ । नगरमा मेयर कप फुटबल, कबड्डी, एथलेटिक्स खेल लगायतको प्रतियोगिता पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । कार्यक्रममा झापा जिल्ला विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेमबहादुर भुजेल लगायतले सुझाव राखेका थिए ।