कचनकवलमा सरसफाइ सिकाउँदै क्लिन
भद्रपुर । भारतसँग सिमाना जोडिएको झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा पानी र फोहोरजन्य रोगहरू र यसबाट जोगिने उपायहरूका बारे सचेतनामूलक अन्तरक्रिया गरिएको छ ।
सरसफाइको क्षेत्रमा विभिन्न रचनात्मक तथा सचेतनामूलक गतिविधि गर्दै आएको क्लिन झापाले कचनकवल गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं २ र ४ मा अन्तरक्रिया गरेको हो । शुक्रवार वडा नं ४ र शनिवार वडा नं २ मा आयोजित अन्तरक्रियामा उल्लेख्य सहभागिता रहेको क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा दूषित पानी र फोहोरबाट सर्न सक्ने रोगहरू र यसबाट बच्ने उपायहरूका बारेमा प्रस्तुति दिइएको थियो भने त्यसबाट सहभागीहरूले सरसफाइका बारेमा उल्लेख्य सिकाइ हासिल गरेको न्यौपानेले बताए ।
वडा नं ४ मा वडाध्यक्ष परमानन्द सिंह राजवंशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने वडा नं २ मा वडाध्यक्ष लक्ष्मीनारायण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । दुवै कार्यक्रमको अध्यक्षता क्लि झापाकी अध्यक्ष शान्ति उपाध्यायले गरेकी थिइन् भने कार्यक्रमको औचित्य बारे संस्थाका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी गराएका थिए ।
संस्थाकी अध्यक्ष उपाध्यायले क्लिन झापाले लामो समयदेखि सरसफाइ र वातावरण संरक्षणमा विभिन्न चेतनामूलक काम गर्दै आएको बताउँदै ग्रामीण क्षेत्र तथा दूर दराजका नागरिकमा अझै पनि नियमित गरिनुपर्ने सरसफाइका बारे चेतनाको कमी रहेकोले जिल्लाका सबै पालिकाका ग्रामीण र कम शिक्षित समुदायमा चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।