शिवसताक्षीमा फागुन १७ देखि मेयरकप खेलकुद प्रतियोगिता
झापा । झापाको शिवसताक्षीमा तेस्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ । ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ ।
आयोजकका अनुसार फागुन १७ देखी २८ गते सम्म हुने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कराँते, कबड्डी र ब्याडमिन्टनका खेल हुनेछन् । शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङका अनुसार नगर स्तरीय फुटबलका विजेता वडाले ७५ हजार पाउने छ भने उपविजेताले ४१ हजार नगदै पुरस्कार पाउने छ । यो बाहेक मेडल, ट्रफि र प्रमाणपत्र पनि विजेताले पाउने छन् ।
फुटबल विधाका सर्वोकृष्ट खेलाडीले १५ हजार र म्यान अफ दि म्याचका विजेताले १४ हजार पाउने छन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने वडाले ८ हजार पाउने आयोजक समितिका सन्तोष पौडेलले बताए । वेस्ट किपर, डिफेन्स, मीड फिल्डर, स्ट्राइकरले जनही ५ हजार पाउने छन् । फुटबल दुधेको क्षेत्रीय रङ्गशालामा १७ गते देखी २८ गते सम्म हुने छ ।
यस्तै भलिबल खेलमा विजेता वडाले ५० हजार पुरस्कार पाउने छ भने उपविजेताले ३० हजार पाउने छ । पारावारीको खेलमैदानमा १८ गते देखी हुने भलिबल खेलका म्यान अफ दि म्याचको उपाधि पाउने खेलाडीले १४ हजार र वेस्ट प्लेयरले ७ हजार पाउने छन् ।
यता महिला तथा पुरुष दुवैको एथलेटिक्स प्रतियोगिता २२ गते देखी हुने भएको छ । व्याङ्गडाँडामा हुने उक्त प्रतियोगिता ८ सय देखी ३ हजार मिटर दुरी सम्मको हुने छ । आयोजकका अनुसार छेलो खेलमा महिला पुरुष दुवैले सहभागिता जनाउने छन् । लङ जम्प महिला—पुरुष र हाई जम्पमा महिला मात्र सहभागी हुने छन् । एथलेटिक्स खेलका लागि आयोजकले ६३ हजार ५ सय पुरस्कार राशि छुट्याएको छ ।
मेयरकप अन्तर्गत क्रिकेट विधाको खेल १९ गते देखी झिलझिले खेलमैदानमा हुने छ । आयोजक समितिका लक्ष्मण अधिकारीले दिएको जानकारी अनुसार विजेता वडाले ५० हजार र उपविजेताले ३० हजार पाउने छ । क्रिकेटको म्यान अफ दि म्याच १४ हजार, म्यान अफ दि सिरिज ३ हजार र वेस्ट अफ दि खेलाडीले ५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।
मेयर कपमा कराँते खेल पनि हुने छ । कराँते महिला र पुरुष दुवैको फरक फरक हुने छ । माईधारको कवर्ड हलमा २२ गते देखी हुने उक्त प्रतियोगिताका विजेताले २० हजार पाउने समितिका प्रेम फुँयलले बताए । आयोजकका अनुसार कबड्डी २६ गते देखी र बुद्धिचाल पनि २० गते देखी दुधेमा हुने छ । कबड्डीका विजेताले १५ हजार र उपविजेताले १० हजार पाउने छन् । यस्तै बुद्धिचालका विजेताले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
यता ब्याडमिन्टन तर्फको खेल माईधारमा हुने छ । सो विधाका डवल खेलाडी विजेताले १० हजार र सिङ्गल विजेताले ५ हजार पाउने छन् । यस्तै दोस्रो डवल विजेताले ५ हजार र दोस्रो सिङ्गल विजेताले ३ हजार पाउने छन् ।
शिवसताक्षी नगरपालिकाले मेयर कपलाई मिनी ओलम्पीको उपमा दिएको छ । चालु आर्थिक वर्ष ०७७÷०७८ मा १५ लाख रकम विनियोजन गरेको थियो । गत वर्ष कोरोना भाइरसका कारण रोकिएको उक्त प्रतियोगिता फेरी सञ्चालनको तयारी भएको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले बताए । आयोजकले सबै विधाका खेलमा ५ लाख २९ हजार ५ सय पुरस्कार राशि छुट्याएको छ ।
आयोजकले प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ । पुनर्स्थापित सांसदका झापा निर्वाचन क्षेत्र नम्बरका सांसद एलपी साँवा लिम्बुले मेयर कपको भव्य समारोहका बिच उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।