२०८२ माघ ५ गते , सोमबार

भद्रपुर २ नम्बर वडा कार्यालयको भवन उद्घाटन

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १६ गते , आईतबार
भद्रपुर २ नम्बर वडा कार्यालयको भवन उद्घाटन

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर २ ले आइतबारदेखि आफ्नै भवनबाट सेवा शुरु गरेको छ । सो वडामा पर्ने सगरमाथा चोकबाट केही दक्षिण–पश्चिममा निर्माण गरिएको वडा कार्यालय भवनबाट सेवा आइतबारदेखि सेवा दिन शुरु गरिएको वडाध्यक्ष भीमबहादुर सुब्बाले जानकारी दिए ।

स्थानीय दाताहरूले मिलेर डेढ बिगाहाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएपछि गत वर्ष भवन निर्माण शुरु भएको थियो ।  १ करोड ६० लाख २७ हजार १७२ रुपैयाँमा निर्माण सम्पन्न भएको कार्यालय भवनको शनिवार एक समारोहका बिच भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । वडाध्यक्ष सुब्बाको अध्यक्षतामा आयोजित समारोहका बिच जग्गादाताहरूलाई सम्मान पनि गरिएको थियो ।

नगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद पोखरेलले सञ्चालन गरेको समारोहमा जग्गादाता शिवप्रसाद अधिकारी, तारा अधिकारी, मीनप्रसाद लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, सो वडाका पूर्व सचिव किरण कार्की र निर्माण व्यवसायी लक्ष्मी माता÷ पी एन्ड जी जेभीलाई पनि सम्मान गरिएको थियो ।

नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जितकारले योजनाका बारेमा जानकारी गराएका थिए । समारोहका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले आफ्नै सुविधा सम्पन्न भवनबाट वडा नं २ का नागरिकलाई सहज र छरितो किसिमले सेवा प्रवाह हुने विश्वास व्यक्त गरे । उनले नगरवासीको आर्थिक–सामाजिक जीवनमा आमूल परिवर्तन ल्याउने गरी नगरपालिकाले योजनाहरू अघि सार्दै त्यसलाई कार्यान्वयन गर्दै आएको बताए ।

वडा सदस्य ममता लिम्बूले स्वागत गरेको कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठ, ३ नं वडाध्यक्ष कमला थुलुङ, नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष खड्का लिम्बू, नेकपा वडा नं २ का अध्यक्ष राजु दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार