झापा र उदयपुरमा लागुऔषधसहित पाँच जना पक्राउ
झापा । झापा र उदयपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको बुद्धशान्ति ३ स्थित झिलमिले पुलबाट सोही ठाउँ बस्ने २३ वर्षीय मुकुन्द राजवंशीलाई ५ ग्राम ४१० मिलिग्राम र भद्रपुर ८ सगरमाथा चोकबाट सोही ठाउँका २४ वर्षीय दिनेश राजवंशीलाई ६ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै उदयपुरको त्रियुगा ६ लालपत्तास्थितबाट लागुऔषधसहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा लहान ३ का २३ वर्षीय सुजित चौधरी, सप्तरी खडका १ का २२ वर्षीय महेश कुमार चौधरी र उदयपुर त्रियुगा ४ का १९ वर्षीय होमबहादुर मगर रहेका छन् । सुजित र महेशलाई लागुऔषध डाईजेपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल र फेनार्गन ३५ एम्पुल सहित पक्राउ गरिएको हो भने होमबहादुरलाई लागुऔषध नाइट्राजिपाम ७५ ट्याब्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।