२०८२ माघ ५ गते , सोमबार

झापाका अनन्त र इलामकी जुनी वर्ष उत्कृष्ट खेलाडी

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २९ गते , शनिबार
झापाका अनन्त र इलामकी जुनी वर्ष उत्कृष्ट खेलाडी

झापा । राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ र उसुकी जुनी राई ‘झापा स्पोर्टस् अवार्ड २०७६’को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले वितरण गर्दै आएको अवार्डको चौथो संस्करणमा झापाका अनन्त र इलामकी जुनी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन्। अवार्ड शुक्रबार झापाको बिर्तामोडमा आयोजना गरिएको कार्यक्रममा वितरण गरिएको हो।

उनीहरुलाई २०७६ सालमा नेपाली खेलकुद क्षेत्रमा गरेको उपलब्धिका आधारमा सचित आनन्द सुब्बाको संयोकत्वमा रहेको प्रतिभा छनोट समितिले वर्ष उत्कृष्ट खेलाडीका रुपमा सिफारिस गरेको थियो। फुटबलका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गरेका छन्। उनले मनोनयनमा परेका फुटबलरद्वय छिरिङ गुरुङ र सेसेहाङ आङदेम्बेलाई पछि पारेका हुन्। अनन्त १३ औं साग स्वर्ण पदक जित्दाको राष्ट्रिय फुटबल टोलीका सदस्य थिए। उनी गत सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबबाट खेल्दै उत्कृष्ट डिफेन्डर समेत हुन्।

अवार्डको महिलातर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित हुँदै जुनीले एक थान स्कुटर प्राप्त गरिन्। उनले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारिन्। नेपाल पुलिस क्लबकी जुनीले १३औं सागमा उसुमा स्वर्ण पदक प्राप्त गरेकी थिइन्। उनी उसु विधातर्फ ‘एनएनआईपिए २०७५/७६’ की वर्ष उत्कृष्ट खेलाडी समेत हुन्।

यस्तै, बर्ष उत्कृष्ट खेलाडी (युवा)तर्फ फुटबलका रेजिन सुब्बा घोषित भए। उनले नगद २५ हजार रुपैयाँ र अवार्ड प्राप्त गरे। झापाका रेजिनले मनोनयनमा परेका कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारेका हुन्। रेजिन १३औं सागमा स्वर्ण पदक प्राप्त राष्ट्रिय फुटबल टोलीका सदस्य हुन्। उनी सहिद स्मारक लिग बिजेता मच्छिन्द्र क्लबका समेत खेलाडी हुन्। उनी सम्मिलित क्लबले गत बर्ष झापाको सताक्षी गोल्डकप र इलामको माईभ्याली गोल्डकपको उपाधि जितेको थियो। 

त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेतीले जिते। उनले नगद २५ हजार रुपैयाँ र अवार्ड प्राप्त गरे। झापाका उप्रेतीले मनोनयनमा परेका फुटबलका प्रवेश कटुवाल र पौडीका ओङदेन लामालाई पछि पारे। १३औं सागमा करातेले १० वटा स्वर्ण पदक जित्दा उनी मुख्य प्रशिक्षक थिए।

पिपल्स च्वाइज अवार्ड महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले जितिन्। विभागीय टोली सशस्त्र प्रहरीमा आवद्ध इलामकी एञ्जिलाले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन्। त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन डम्बर कु“वरलाई प्रदान गरियो। उनले नगद ३५ हजार र अवार्ड प्राप्त गरे। उनले सन् १९८८ को सिओल ओलम्पिकमा एथलेटिक्स विधाबाट प्रतिनिधित्व गरेका थिए। उनले डेक्लाथोनमा राखेको राष्ट्रिय कीर्तिमान अहिलेसम्म कुनै नेपाली खेलाडीले भंग गर्न सकेका छैनन्।

त्यस्तैगरी खेलकुद क्षेत्रमा विशेष योगदान गरेका बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारीरिक सुगठनका राम दाहाललाई ‘स्पेशल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। उनीहरुले जनही नगद २५ हजार र अवार्ड प्राप्त गरेका थिए। 

२०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्वफुटबलर आशिषविक्रम नेम्बाङको स्मृतिमा चार बर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।  

सम्बन्धित समाचार