२०८३ बैशाख २२ गते , मंगलबार

आर्थिक अनियमितता : पूर्व प्रहरी सङ्गठनको साधारणसभा बहिष्कार

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १ गते , आईतबार
आर्थिक अनियमितता : पूर्व प्रहरी सङ्गठनको साधारणसभा बहिष्कार

भद्रपुर। नेपाल पूर्व प्रहरी सङ्गठन जिल्ला कार्य समिति झापाको २६ औं वार्षिक साधारण सभालाई सङ्गठनका १५ वटै स्थानीय तहबाट आएका प्रतिनिधिहरूले बहिष्कार गरेका छन् । भद्रपुरमा आयोजित सभामा अध्यक्ष खेमराज कार्कीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन केवल औपचारिकतामा मात्रै सीमित भएको भन्दै सङ्गठनका साधारण सदस्यहरूले बहिस्कार गरेका हुन् ।

सङ्गठनका साधारण सदस्य याम आचार्यले कार्यसमितिले सङ्गठनमा आर्थिक चलखेल गरेको र हिसाब अपारदर्शी भएको भन्दै सभा बहिस्कार गरेको बताए । सङ्गठनका कचनकवल अध्यक्ष देउमान बुढाथोकीले केन्द्रीय समितिले सदस्यहरूको गणपूरक सङ्ख्या पुरा नगरी सभाको आयोजना गरेको भन्दै केन्द्रले सङ्गठनका सदस्यहरूको हित विपरीत विधान ल्याउँदा जिल्ला समितिले कुनै पहल गर्न नसकेको आरोप लगाए । झापामा २३ सय बढी साधारण सदस्य रहँदा ५० प्रतिशत भन्दा कम सङ्ख्यामा उपस्थित सदस्यहरू रहेको सभाको महत्त्व नहुने भन्दै वार्षिक साधारण सभा बहिस्कार गरेको सहभागी सदस्यहरूले बताएका छन् ।

उनीहरूले कार्यक्रम स्थल छनोट, त्यसको व्यवस्थापन ठिक नभएको भन्दै वर्तमान कार्यसमिति आफूखुसी अघि बढ्ने गरेको आरोप लगाउँदै पारदर्शी र वैधानिक तवरले सभा सञ्चालन नभएसम्म आफूहरू साधारण सभामा उपस्थित नहुने बताएका छन् । यता कार्यसमिति अध्यक्ष खेमराज कार्कीले भने समितिबाट सामान्य त्रुटि भए पनि यस्तो त्रुटि फेरि दोहोरिन नदिने बताए । उनले सबै प्रक्रिया पुर्‍याएर यही चैत्र २२ गते अर्को साधारण सभा गरिने बताए ।

सदस्यहरूले भनेजस्तो सङ्गठनमा कुनै पनि आर्थिक हिनामिना नभएको सचिव अग्नि खड्काले दाबी गरे । कार्यक्रममा सङ्गठनका जिल्ला सल्लाहकार धनप्रसाद सिवाकोटी, भद्रपुर अध्यक्ष ढाकबालाल अधिकारीलगायतको नगण्य मात्रामा सहभागिता रहेको थियो।

सम्बन्धित समाचार