बिर्तामोड वडास्तरीय फुटबलको उपाधि वडा नम्बर १० ले जित्यो
झापा । बिर्तामोड नगरपालिकामा सञ्चालित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा वडा ४ लाई टाइबे्रकरमा ३ का विरुद्ध ४ गोलले पराजित गरी वडा नम्बर १० ले उपाधिसँगै ७० हजार नगद पुरस्कार जितेको हो । उपविजेता वडा ४ ले नगद ५० हजारमा चित्त बुझाउनु परेको छ । निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि टाई ब्रेकर खेलाइएको थियो ।
नगर खेलकुद विकास समितिको आयोजनामा वडा न।७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।
गत फागुन २८ गते प्रतियोगिता सुरु भएको नगर खेलकुद विकास समितिका अध्यक्ष टिका सङ्ग्रौलाले जानकारी दिएका छन् । प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाएका थिए । विजेता तथा उपविजेता टिम र खेलाडीहरूलाई राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण सिवाकोटी , प्रदेश सांसद एकराज कार्की र नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले पुरस्कार , शिल्ड, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए । विजेता तथा उपविजेता टिमसँगै अन्य ६ वटा विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सङ्ग्रौलाले जानकारी दिए ।