विराट गोल्डकप चैत २६ बाट, भारत र क्यामरुन गरी १० टिमको सहभागिता
विराटनगर । छैटौं संस्करणको ‘विराट गोल्ड कप फुटबल–२०७७’ चैत्र २६ गतेबाट सुरु हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रस्टले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगरस्थित सहिद मैदानमा चैत्र २६ गते बाट गोल्डकप सुरु हुने जानकारी गराएको हो।
विराट गोल्डकप फुटबल ट्रस्ट, आयोजक समितिका संयोजक मनोज विक्रम शाहका अनुसार रात्रिकालिन हुने सो फुटबल प्रतियोगिता वैशाख ४ गते समापन हुनेछ। ‘विराट गोल्डकप हाम्रो गौरव’ नारासहित सुरु हुन लागेको गोल्ड कपमा नेपाल, भारत र क्यामरुन गरी १० टिम सहभागी रहने आयोकले जनाएको छ। भारतको पुलिस पंजाब पुलिस, झारखण्ड टाटा एकेडमीका साथै तेश्रो मुलुक क्यामरुनको अफ्रिकन रुट्स प्रथम पटक सहभागी हुनेछ।
त्यस्तै नेपालका मनाङ मर्स्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लब, संकटा कल्ब,राष्ट्रिय लिग विजेता टिम मच्छिन्द्र क्लब, गोर्खा ब्याइज, रुपन्देही र विराटनगर ११ सहभागी हुनेछन्। खेलका विजेता टोलीले १५ लाख १५ हजार पाउनेछन् भने उपविजेताले ७ लाख ५१ हजार पाउने छ। त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाकलसहित पदक पाउनेछन्।
म्यान अफ द म्याच हुने खेलाडीले प्रत्येक म्याचमा १५ हजार नगद पुरस्कार प्रदान गरिने छ। प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयरप्ले अवार्ड लगायतलाई २५ हजार पुरस्कार प्रदान गरिनेछ।