कक्षामा १० मा अध्ययनरत दुई विद्यार्थीको शव जङ्गलमा भेटियो
झापा । काठमाडौँको दक्षिणकाली नगरपालिका–१ खहरे चाल्नाखेलमा आज (शुक्रवार) फेला परेको दुई शवको प्रहरीले पहिचान गरेको छ । शुक्रवार खहरेस्थित जङ्गलमा भेटिएको दुई जनाको शव १० कक्षामा पढ्ने विद्यार्थीको भएको पुष्टि भएको छ । प्रहरीले मृतकका आफन्तमार्फत शवको पहिचान पुष्टि गरेको हो ।
चाल्नाखेलमा भेटिएको दुई शव नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मङ्गल तामाङको भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिएका छन् । नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे । काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मङ्गलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत रहेको खुलेको प्रहरीले बताएको छ ।
‘दुवै जना बाङ्गेमूढामा बस्ने गरेको खुलेको छ’ एसपी बस्नेतले भने–‘उनीहरू साथी हुन्, मृत्युको कारण खुलिसकेको छैन, अनुसन्धानमै छौँ ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंह कमान्डको टोली घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक डाक्टरले शवको अवस्था अवलोकन गरेका छन् ।
तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिएको एसपी बस्नेतले जानकारी दिएका छन् । खहरेस्थित जङ्गलमा डाँडा वारी–पारी दुई जनाको शव फेला परेको थियो । अर्जुनका दाइले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरू बिहीबार बिहान १० बजेबाट हराइरहेका थिए । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन् । नयाँ पेज बाट