रेडपाण्डाको तस्करी : छालासहित तीन सिकारी पक्राउ
झापा । रेडपाण्डा चोरी सिकार गरी त्यसको छाला लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले चोरी सिकारीसहित वन्यजन्तुको छाला नियन्त्रणमा लिएको छ । रेडपाण्डा मार्न प्रयोग गरिने पासो पाँच थानसहित रेडपाण्डाको सात थान छाला बरामद गरिएको प्रहरी हवल्दार चण्डीमान राईले जानकारी दिए ।
सोलुखुम्बु जिल्लाको हिमाली भेगको मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र चोरी सिकारी गरी मार्ने, आखेटोपहार लुकाई छिपाई राखी खरिदबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको सूचनाको आधारमा प्रहरीले नियन्त्रित वस्तु बरामद गरेको हवल्दार राईले जानकारी दिए ।
पक्राउ पर्नेमा महाकुलुङ–२ का जगतबहादुर राई, वडा नं। ३ का मितुरधन राई र कविरशंखर राई छन् । उनीहरूका घरबाटै लुकाई छिपाई राखिएको अवस्थामा वन्यजन्तुका छाला र पासो बरामद गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने इन्स्पेक्टर मन्दिप चौहानले जानकारी दिए । सोमबार बरामद भएका वस्तु तथा आरोपीलाई मकालु वरुण राष्ट्रिय निकुञ्ज पठाउने प्रहरीले जनाएको छ । ब्लाष्टखबरबाट