२०८२ माघ ५ गते , सोमबार

सतासीधामका सचिवमाथि हातपात, आरोपी राई पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १२ गते , विहीबार
सतासीधामका सचिवमाथि हातपात, आरोपी राई पक्राउ

झापा ।  सतासी धाम सामुदायिक बनका सचिव इन्द्र सापकोटामाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शिवसताक्षी नगरपालिका ८ स्थित झिलझिले बजारको सार्वजनिक स्थलमै सापकोटालाई हातपात गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका ८ बस्ने धनवहादुर राईलाई पक्राउ गरेको हो । 
झिलझिले बजारको पुरानो सब्जी लाइनमा ६४ वर्षीय सापकोटामाथि स्थानीय चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका राईले मदिरा सेवन गरी  हातपातसँगै दुर्व्यवहार गरेको सामुदायिक बनका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए । उनले भने, ‘सार्वजनिक स्थानमा सामुदायिक बनका सचिव सापकोटा माथि राईले मर्यादाको ख्यालै नगरी दुर्व्यवहार गरेका हुन् ।’
सामुदायिक बनको सल्लाहकार समितिको गठनका विषयमा राईले अध्यक्ष थापालाई जिज्ञासा राखेका थिए । अध्यक्ष थापाले आफू दुई साता अघि मात्र निर्वाचित भएर अध्यक्षको पद बहाली गरेको बताउँदै सामुदायिक बनको विधानमा भएको व्यवस्था आफूलाई जानकारी नभएको बताएका थिए । 
राई र म बिच वादविवाद भएकै बेलामा सचिव सापकोटा आइपुगेपछि सचिव माथि उनी आक्रोशित ढङ्गले खनिएको अध्यक्ष थापाले बताए । उनले बस भन्दै सचिव सापकोटालाई तानेको र उनी सवार मोटर साइकलको चाबी खोसेको आफूले प्रत्यक्ष देखेको अध्यक्ष थापाले बताए । उनले भने ‘राईले आफू भन्दा करिब ३५ वर्ष जेठोको मर्यादाको ख्यालै नगरी सार्वजनिक स्थानमा दुर्व्यवहार गरेका हुन् ।’
आरोपित राई माथि कानुनी कारवाहीका लागि २ वटा निवेदन इलाका प्रहरी कार्यालय झिलझिलेमा आएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए । पीडित र पिडक दुवै जना सहोदर छिमेकी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले बताएको छ । 
यता पीडित सापकोटाले आफूमाथि दुर्व्यवहार मात्र नगरेर राईले कुटपिट गरेको बताएका छन् । ‘उनी मातेका थिए । मातेका मानिस सँग विवाद गर्नु बेकार भन्दै म सवार हुने मोटरसाइकल लिएर हिडन खोज्दा कठालोमा समातेर मोटर साइकलको चाबी खोस्दै म माथि कुटपिट गरे,’ उनले भने ।

‘कुटपिटका कारण कानमा समस्या आएपछि बिर्तामोडको विएण्सी अस्पतालमा म उपचार गराउँदै छु ।’  पीडित सापकोटाले इलाका प्रहरी कार्यालय झिलझिलेमा दोषी राईलाई कानुनी कारवाहीका लागि निवेदन दिएका छन् । सामुदायिक बनले पनि सचिव माथि कुटपिट भएको भन्दै दोषी राईलाई कुटपिट र दुर्व्यवहार सम्बन्धिको कसुरमा कारवाही गर्न माग गरेको छ । यो कसुरमा पीडकलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार