झापामा खुला सीमा सिल भए पनि आवतजावत रोकिएन, मदिरा पिउन नेपाल आउँछन् भारतीय
झापा । झापामा भारतसँगको खुला नाका १४४ दशमलव २ किलोमिटर छ । खुला सीमा रहेको भारतबाट जुनसुकै गौँडाको प्रयोग गरेर भारतीय नेपाल प्रवेश गर्न सक्छन् । कोरोनाको दोस्रो लहर भारतमा भयावह छ । जसको प्रत्यक्ष असर नेपाललाई पर्न सक्ने खतराका कारण खुला सीमा सिल छ ।
तर, पर्याप्त सुरक्षाकर्मी नाकामा नहुँदा सिल भएको सीमाबाट सहजै भारतीयहरू नेपाल प्रवेश गरिरहेका छन् । खासगरी दक्षिणी नाका भएर भारतीयहरू नेपालका सीमावर्ती बजारसम्म आउने गरेका छन् । नेपाली पनि भारतीय सीमावर्ती बजारमा किनमेल गरेर सहजै नेपाल प्रवेश गरिरहेका छन् । बुधबार झापा गाउँपालिकाको नाका भएर २० जना नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई पूर्व–पश्चिम राजमार्गस्थित सुरुंगा बजार आइपुगेर फर्काइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारतीय बजारबाट सीमावर्ती नेपाली बजारमा सामान सहजै ल्याइरहेको दृश्य देख्न सकिन्छ, सीमावर्ती बजारमा ।
सीमामा पर्याप्त जनशक्ति नहुँदा भारतीयहरू नेपालमा लुकीछिपी प्रवेश गरिरहेको र जसका कारण जोखिम बढेको झापा गाउँपालिका अध्यक्ष जयनारायण साह बताउँछन् । ‘पहिलाको जस्तो पर्याप्त जनशक्ति छैन । भएको जनशक्तिले सीमा कभर गर्न सकेको छैन,’ उनी भन्छन्, ‘मकै बारी छ । त्यहाँबाट लुकीछिपी नेपाल प्रवेश गरिरहेका छन् । यसलाई रोक्न हामीले सुरक्षाकर्मी बढाउन आग्रह गरिरहेका छौँ ।’
सिमानामा अहिलेसम्म सुरक्षाकर्मीको उपस्थिति नदेखिएको गौरीगन्ज–४ स्थित नेपाल–भारत दशगजामा जोडिएको बस्ती बाह्रशुद्धिका विनोदप्रसाद यादव बताउँछन् । उक्त बस्ती भएर दैनिक सयजनाभन्दा धेरै मानिसहरू आवतजावत गरिरहेको उनी बताउँछन् । ‘खै कसको कमजोरी भएर हो । अहिलेसम्म सीमामा सुरक्षाकर्मी देखिएका छैनन् । मान्छे हिँड्ने क्रम पनि रोकिएको छैन । भारतमा कारोना भाइरस तीव्र रूपमा फैलिएको छ,’ उनी भन्छन्, ‘हामीलाई त्रसित बनाएको छ । यहाँबाट आउनेले मास्कसम्म पनि लगाएका हुँदैनन् । प्रशासनले ख्याल गर्नुप¥यो ।’
गत वर्ष एउटा अस्थायी पोस्टबाट अर्को पोस्टमा रहेका सुरक्षाकर्मीबीच ‘आई कन्ट्याक’ हुने गरी सुरक्षाकर्मीका अस्थायी पोस्ट राखिएका थिए । झापाको पूर्वोत्तर मेचीको तिरिङबाट पश्चिम–दक्षिण गौरीगन्जको १४४ किलोमिटर खुला सिमानामा सुरुवाती समयमा सशस्त्र प्रहरीले १३६ वटा पोस्ट राखेको थियो ।
सशस्त्र प्रहरीको बीचमा नेपाल प्रहरीले ४० वटा अस्थायी पोस्ट राखिएको थियो । तर, अहिले सीमा सुरक्षाकर्मीको संख्या कम भएका कारण पनि आवतजावत नियन्त्रणमा केही समस्या देखिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘सशस्त्रको जनशक्ति पहिलाको जस्तो छैन । अस्थायी पोस्ट थप्ने प्रयत्न गरिरहेका छौँ । पालिकासँग पनि समन्वय गरिरहेका छौँ,’ उनले भने, ‘सीमामा आवतजावत घटाउनुपर्छ । सीमामा जनशक्ति कम छ । हामीले प्रदेशमा जनशक्ति मागेका छौँ । अहिले भएकाले पहिलाभन्दा अलिक खट्नुपर्ने अवस्था छ ।’
उनले सीमामा स्थानीय जनताको सहभागितामा सीमा निगरानी समिति आवतजावत नियन्त्रणको काम गरिने उनले बताए । ‘सीमामा आवतजावत नियन्त्रण गर्न स्थानीय पनि जागरुक हुनुपर्छ,’ उनले भने, ‘यसका लागि पालिकासँग समन्वय गरेर सीमा निगरानी समिति बनाउने तयारी छ ।’
मदिरा सेवन गर्न आउने रोकिएनन्
भारतको सीमावर्ती क्षेत्रमा मदिरा निषेध छ । सामान्य अवस्थामा पनि सीमावर्ती भारतीयहरू नेपालमै प्रवेश गरेर मदिरा सेवन गरेर फर्कन्थे । तर, सीमा सिल भएको समयमा समेत उनीहरू सहजै नेपाल भित्रिरहेका छन् र मदिरा सेवन गरेर फर्कन्छन् । बुधबार साँझ गौरीगन्ज–४ स्थित सीमावर्ती बस्ती बाह्रशुद्धिमा भारतीय बस्ती खनियावरका लक्ष्मी ऋषिदेव र मेथुलाल ऋषिदेव भेटिए ।
स्थानीयका अनुसार उनीहरू मदिरा सेवन गर्न आएका हुन् । नाकामा केही अवरोध नरहेको मेथुलाल बताउँछन् । ‘केही अवरोध थिएन । हामी यसै हावा खान नेपा आएका हौँ,’ उनले भने, ‘बरु भारततिर पो एसएसबीले अलिक गाली गर्छ ।’ भारतबाट मदिरा सेवन गर्न दैनिक ५० जनाभन्दा धेरै आउने गरेको मदिरा पसल सञ्चालक बुललाल यादव बताउँछन् । ‘पारि मोदी सरकारले ब्यान्ड गरेको छ । उताबाट कहिलेकाहीँ रमाइलो गर्न आउँछन्,’ उनले भने ।
मदिरा सेवन गर्न आउनेबाट स्थानीयलाई संक्रमणको खतरा रहेको बाह्रशुद्धिका विनोदप्रसाद यादव बताउँछन् । ‘मदिरा सेवन गर्न भारतबाट हुल बाँधेर आइरहेका छन् । कसैले रोकेको छैन,’ उनी भन्छन्, ‘उनीहरूबाट चाहिँ हामीलाई खतरा छ ।’ नयाँ पत्रिकाबाट