२०८३ बैशाख २४ गते , विहीबार

कोरोना कहर : बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नगर्न उद्योग वाणिज्य सङ्घको अपिल

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १९ गते , आईतबार
कोरोना कहर : बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नगर्न उद्योग वाणिज्य सङ्घको अपिल

भद्रपुर । झापा उद्योग वाणिज्य सङ्घले कोरोना भाइरस (कोभिड–१९) महामारीको अहिलेको अवस्थामा कोरोना संक्रमणविरुद्ध सबै खाले स्वास्थ्य सुरक्षा अपनाएर उद्योग–व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीहरूलाई आग्रह गरेको छ ।

सङ्घको आज बसेको कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो आह्वान गरेको हो । अहिलेको अवस्थामा झापामा पनि कोरोना सङ्क्रमितको सङ्ख्या ५०० को हाराहारीमा पुगेको उल्लेख गर्दै सङ्घले सचेत रहन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बसेको सीमित पदाधिकारीहरूको बैठकपछि सङ्घले एक अपिल जारी गर्दै हालको सङ्कटको अवस्थामा बजारमा हुनसक्ने दैनिक उपभोग्य बस्तुहरूको अभाव र मूल्यबृद्धिलाई संवेदनशील ढङ्गले लिँदै कुनै पनि कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नगर्न÷नगराउन अनुरोध गरेको छ । 

‘निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको मातहतमा रहेको झापा उद्योग वाणिज्य सङ्घ आफैमा जिम्मेवार संस्था भएकाले यस संस्थामा आबद्ध सबै सदस्यहरूको यस विषम परिस्थितिमा संवेदनशील र जिम्मेवार भूमिका आवश्यक छ नै राज्यले गम्भीर ढङ्गले कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्न गरेका महत्त्वपूर्ण निर्णयहरुलाई आत्मसाथ गर्दै व्यावसायिक भूमिका निर्वाह गर्न हामी सबै व्यवसायीहरूलाई हार्दिक अनुरोध गर्दछौँ’, अपिलमा भनिएको छ । 

सङ्घले अहिलेको यो विशिष्ट परिस्थितिमा सरकारी निकायबाट बजार अनुगमन हुने हुँदा सबै व्यवसायीहरूले आफ्ना व्यवसायका मूल्य सूचीका साथै बिल–बिजक चुस्त–दुरुस्त राखी कारोबारलाई पारदर्शी बनाउन पनि आग्रह गरेको छ ।

सम्बन्धित समाचार