निर्माण सामग्रीका लागि झापा आइरन
झापा । व्यावसायिक क्षेत्रका चार जना अगुवाले झापा आइरन प्रालि स्थापना गरेका छन् । सबै प्रकारका निर्माण सामग्रीको बिक्री वितरणका लागि झापामा नयाँ कम्पनी स्थापना गरेको हो । व्यावसायिक क्षेत्रका अगुवा ज्ञानुराम प्रसाईँ, सुभाष भट्टराई, राहुल शर्मा र प्रकाश लिङदेनको साझेदारीमा झापा आइरन प्रालि स्थापना भएको छ । प्रालिको अध्यक्षमा प्रसाईँ र प्रबन्ध सञ्चालकमा भट्टराई रहेका छन्।
भर्खरै स्थापना भएको कम्पनीले निर्माण सामग्रीको बिक्री सुरु गरेको छ । उदयपुर सिमेन्ट उद्योगले उत्पादन गरेको गैँडा सिमेन्टको बिक्रीबाट कम्पनीले आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गरेको अध्यक्ष प्रसाईँले बताए । बिक्री केन्द्र नहुँदा उपभोक्ताले सहज ढङ्गले झापामा गैँडा सिमेन्ट पाउन सकिरहेका थिएनन् । चुन ढुङ्गा प्रयोग गरेर बनाइएको गैँडा सिमेन्ट अरू सिमेन्टको तुलनामा धेरै गुणस्तरीय र भरपर्दो मानिन्छ । यो सिमेन्ट झापाको बजारमा प्रतिबोरा ८४० रुपैयाँमा उपलब्ध हुन्छ ।
पूर्वाधार निर्माणको बढ्दो अवस्थालाई ध्यानमा राखेर कम्पनी स्थापना गरिएको प्रबन्ध सञ्चालक भट्टराईले बताए । उच्च गुणस्तरीय सामग्रीको बिक्री तथा प्रवर्द्धनका लागि कम्पनीले पहिलोपटक गैँडा सिमेन्ट रोजेको हो ।
मेचीका पहाडी जिल्लामा समेत उपलब्ध हुने गरी झापा आइरन प्रालिले गैँडा सिमेन्टको बिक्री सुरु गरेको छ । प्रतिवर्ष कम्तीमा एक लाख बारेमा गैँडा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखिएको प्रबन्ध सञ्चालक भट्टराईले जानकारी दिए ।
सबै प्रकारका निर्माण सामग्रीको बिक्रीका लागि कम्पनीले झापाको बिर्तामोड र कनकाई नगरपालिकामा बिक्री केन्द्र स्थापना गरेको छ । बिर्तामोडमा भने सुगम शान्ति टोलमा बिक्री केन्द्र स्थापना भएको छ । बिक्री केन्द्रमार्फत सिमेन्ट, रड, रङ लगायतका निर्माण प्रयोजनका सामग्री थोक तथा खुद्रा मूल्यमा बिक्री गर्ने झापा आइरन प्रालिका अध्यक्ष प्रसाईँको भनाई छ ।