२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुर ७ नम्बर वडा कार्यालयको भवन उद्घाटन, ५ नम्बरको कार्यालय पनि सर्‍यो

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २६ गते , आईतबार
भद्रपुर ७ नम्बर वडा कार्यालयको भवन उद्घाटन, ५ नम्बरको कार्यालय पनि सर्‍यो

झापा ।  भद्रपुर नगरपालिका ७ नम्बर वडा कार्यालयले सेवा आफ्नै नवनिर्मित भवनबाट औपचारिक रुपमा सुरु भएको छ । भद्रपुरको सगरमाथा चोकबाट लगभग २ सय मिटर पश्चिम–दक्षिणमा हालै निर्माण सम्पन्न भएको दुई तले प्रशासनिक भवनबाट औपचारिक रुपमा सेवा सुरु भएको हो । 

शनिवार स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै गरिएको एक संक्षिप्त कार्यक्रमका बिच वैदिक विधिअनुसार शुभ साइतमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले रिबन काटेर उद्घाटन गरेसँगै अब औपचारिक रुपमा नयाँ भवनबाट सेवा सुरु भएको वडाध्यक्ष विनोदप्रसाद पोखरेलले बताए ।

तीन वर्षदेखि भाडाको घरमा रहेको कार्यालय आफ्नै भवनमा सरेपछि वडाको सेवा प्रवाह थप सहज र सुविधाजन हुने वडाध्यक्ष पोखरेलको भनाइ छ । भवन उद्घाटनमा उपप्रमुख चन्द्रा श्रेष्ठ, वडा सदस्यहरू मित्रा भट्टराई, पोषराज पौडेल, विभा पासवान, प्रशासकीय अधिकृत नेत्रप्रसाद पोखरेल, इन्जिनियर योगेन्द्र रञ्जितकारलगायतको उपस्थिति थियो ।

०७६ भदौ १६ गते भ्याटसहित १ करोड ७०९ लाख ७८ हजार रुपैयाँमा सम्झौता भई गत चैतमा निर्माण कार्य सम्पन्न भएको निर्माण कार्यको जिम्मा पाएको सगरमाथा कन्स्ट्रक्सनका शम्भु कार्कीले जानकारी दिए ।

१ करोड ४७ लाख ४६ हजार ४३४ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनमा भुइँतलामा ७ वटा कोठा र पहिलो तलामा सभा हलसहित ३ वटा कोठा रहेको इन्जिनियर रञ्जितकारले जानकारी दिए ।

यसैबिच, भद्रपुर नगरपालिकाको वडा नं ५ को कार्यालय पनि शनिवार नै स्थानान्तरण भएको छ । हाल वडा नं ५ मा रहेको नगरपालिकाको कार्यालय भद्रपुर–६ स्थित नयाँ भवनमा सरेपछि ५ नं वडा कार्यालय नगरपालिकाको पुरानो भवनमा सरेको हो ।

नगरपालिकाकै दक्षिणतर्फको भवनको सीमित कोठाहरूमा सञ्चालन हुँदै आएको वडा कार्यालय फराकिलो ठाउँमा स्थानान्तरण भएपछि सेवा प्रवाह सहज हुने वडाध्यक्ष बन्धु कार्कीले बताए ।

 

सम्बन्धित समाचार