बायोमास ब्रिकेट उद्योगमा लागेको आगो एक सातापछि नियन्त्रण
भद्रपुर । झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट उद्योगमा लागेको आगो एक हप्ता पछि पूर्ण रुपमा नियन्त्रणमा आएको छ । वैशाख २० गते राति ३ बजेतिर सल्किएको आगो आइतबार राति १२ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुरुमा उद्योगमा आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी सात वटा दमकल परिचालन गरिएका थियो । तर पछि आगो पूर्ण नियन्त्रणमा ल्याउन प्रत्येक दिन तिन वटा दमकल, ६ वटा ट्याक्टर, २ वटा टिपर र ३ वटा जेसिभि प्रयोग गरिएको प्रहरीले जनाएको छ । निल कोठी भन्ने ठाउँमा रहेको ब्रिकेट उद्योगमा लागेको आगोबाट १३ देखि १५ करोडसम्म क्षति भएको उद्योगी चण्डी पराजुलीले जानकारी दिए । आगलागीबाट एउटा पुरै युनिट जलेर नष्ट भएको छ ।
आगलागीबाट फ्याक्ट्री , त्यहाँ रहेको मेशिन , ट्याक्टर , जेसीबी , कच्चा पदार्थ , तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको सञ्चालक आदित्य पराजुलीले बताए । आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५५ लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको पराजुलीको भनाई छ । उद्योगमा बिद्युत् सर्ट भई आगलागी भएको थियो । उद्योग डेढ विगाह क्षेत्रफलमा फैलिएको छ ।