शिवसताक्षीमा अग्नि पीडितको घर बनाउँदै युवा सङ्घ, निर्माण कार्य अन्तिम चरणमा
शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले स्थानीय एक अग्नि पीडितलाई घर निर्माण गरेर हस्तान्तरण गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ । इँटा, ढुङ्गा, बालुवा र रडको सबै काम निर्माण मजदुरले सकेको युवा सङ्घ शिवसताक्षी नगर अध्यक्ष फुर्बा तामाङले बताए । उनले कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी नभएको भए वैशाख २० गते अगावै अग्निपीडितलाई घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।
निषेधाज्ञाको कारण केही प्राविधिक समस्या भएकोले विलम्ब भएको अध्यक्ष तामाङले बताएका छन् । राष्ट्रिय युवा सङ्घ शिवसताक्षी नगरले बनाउने घरको छाना र रङ्ग रोगन मात्र बाँकी रहेको छ । सोमबार घर निर्माण स्थलमा पुगेका अध्यक्ष तामाङले अब केही दिनमा अग्निपीडितलाई घर जिम्मा लगाउने बताए ।
राष्ट्रिय युवा संघ शिवसताक्षीले एक भव्य कार्यक्रमको आयोजना गरेर संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङ मार्फत अग्नि पीडितलाई घर हस्तान्तरण गर्ने कार्यक्रम गरेको बताएको छ ।
‘कोभिडको कारणले मुलुक नथलिएको भए यसअघि नै घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने थियो,’ राष्ट्रिय युवा संघ शिवसताक्षी नगरका अध्यक्ष तामाङले भने । शौचालय, भान्सा र चार वटा कोठा सहितको घर निर्माणमा राष्ट्रिय युवा संघ शिवसताक्षी नगरले करिब ६ लाख रुपैयाँ खर्च गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ७ झारवारिका अग्नि पीडितको घर बनाइदिएर शिवसताक्षी नगरमा नेकपा एमालेको राष्ट्रिय युवा सङ्घ नेपालले प्रशंसनीय कार्य गरेको पार्टी समेतले बताएको छ ।
झापाको शिवसताक्षी नगरमा युवाहरूले अग्निपीडितको घर निर्माण गरेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय समेतमा चर्चा भएको सचिवालयका सदस्य चेतन अधिकारीले बताए । उनले भने, ‘अग्निपीडितको घर निर्माण कार्यमा राष्ट्रिय युवा संघ लागिपरेको झापाबाट खबर आएको प्रधानमन्त्रीले पनि जानकारी राख्नु भएको छ ।’ आगोले जलेर घर खरानी भएका पीडितको घर निर्माण गरिदिने नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ शिवसताक्षीले यसअघि घोषणा गरेको थियो ।
राष्ट्रिय युवा सङ्घको यो कार्यकाल जिल्ला, प्रदेश र केन्द्रमा चौतर्फी प्रशंसा भएको छ । गएको चैत्र २७ गते राती विद्युत् सर्ट भई स्थानीय रामबहादुर खड्काको घर आगलागीमा परेर नष्ट भएको थियो । आगलागीबाट उनको करिब २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । राष्ट्रिय युवा सङ्घ नेपाल शिवसताक्षी नगर कमिटीको अगुवाइमा घर निर्माण भएपछि पीडित परिवारका छिमेकी र आफन्त समेत खुसी भएका छन् । स्थानीयवासीले भने, ‘मन मिल्यो भने युवाले समाज रूपान्तरणका अनेकौँ रचनात्मक कामहरू गर्न सक्नेछन्, स्याबास युवा।’