झापामा एक साता लम्बाइयो निषेधाज्ञा, यातायातसहित सम्पूर्ण पसल बन्द
(पार्थ मण्डल) झापा । झापामा एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ ७ गते मध्याराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । यसअघि वैशाख १९ गतेदेखि लगाइएको पहिलो चरणको निषेधाज्ञा भन्दा दोस्रो चरणको निषेधाज्ञा झन् कडा पारिएको छ । बैठकले जिल्लाभरि अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधनमाथि पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जानु र पहिलो चरणको निषेधाज्ञा उल्लङ्घन भएको जनगुनासो आएपछि यस पटकको निषेधाज्ञा थप कडा पारिएको प्रजिअ तिमिल्सिनाको भनाई छ ।
त्यस्तै औषधि, स्वास्थ्य सामग्री, इन्धन बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रुपमा बन्द गर्ने र हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा बिहान ८ बजे भित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउने सकिने निर्णय बैठकले गरेको छ ।
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम कर्मचारी मात्र उपस्थिति भई काम गर्ने, त्यहाँका कार्यरत कर्मचारीले परिचयपत्रका आधारमा बिहान ९ देखि १० र बेलुका ५ देखि ६ बजेसम्म सरकारी तथा निजी सवारीसाधन चलाउन पाउने, बैङ्क तथा वित्तीय संस्थाहरू न्यूनतम कर्मचारीको उपस्थितिमा हप्ता दुई दिन सञ्चालन गर्न पाउने, सहकारी संस्थाहरूले बचत सङ्कलन स्थगित गर्ने लगायत बुँदा निर्णय गरेको छ ।
भारतको खुला नाकासँग जोडिएको झापा जिल्ला पछिल्लो पटक कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको छ । जिल्ला बिहीबारसम्म २ हजार ३३० जना सक्रिय संक्रमित रहेका छन् । आज एकै दिन पाँच जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या १७० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।