निषेधाज्ञालाई थप कडा बनाउन गृह मन्त्रालयको निर्देशन, मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिने
झापा । निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् ।
सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न समेत गृहले निर्देशन दिएको छ । प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताए ।
बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको हो ।