२०८३ बैशाख ३१ गते , विहीबार

सहकारी सङ्घद्वारा पत्रकार महासङ्घलाई स्वास्थ्य सामग्री प्रदान

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ११ गते , मंगलबार
सहकारी सङ्घद्वारा पत्रकार महासङ्घलाई स्वास्थ्य सामग्री प्रदान

झापा । झापा जिल्ला सहकारी सङ्घले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । मङ्गलवार बिर्तामोडस्थित सहकारी सङ्घको कार्यालयमा उक्त सामग्री प्रदान गरिएको हो । सहकारी सङ्घको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु (भवानी) दंगाल र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

पत्रकार महासंघ झापाको आग्रहमा सहकारी सङ्घले गुणस्तरीय मास्क तीन सय प्याकेट, स्यानिटाइजर र फेसशील तीन÷तीन सय थान, अक्सिमिटर २० थान हस्तान्तरण गरेको हो । सङ्घका अध्यक्ष ढकालले सङ्कटको घडीमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि सहयोग प्रदान गरिएको बताए । उनले सुरक्षाकर्मीका लागि ६ लाख बढीको सामग्री सङ्घले केही दिन अघि हस्तान्तरण गरेको पनि जानकारी दिए ।

सङ्घले महामारीका समयमा गरेका काम र अबको योजना तथा अभियानबारे जेठ १२ गते बुधवार भर्चुअल पत्रकार भेटघाट मार्फत जानकारी गराउने जनाएको छ । सङ्घका सचिव दंगालले जुम मार्फत हुने पत्रकार सम्मेलनमा सहभागिताका लागि सबै पत्रकारमा अनुरोध गरेका छन् । सङ्कटको घडीमा सहयोग गरेकोमा महासङ्घका अध्यक्ष गिरीले सहकारी सङ्घलाई धन्यवाद दिँदै सहकारी सङ्घसँग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने र सङ्घका कार्यमा सहयोग गरेर जाने बताए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईँ, कार्यसमिति सदस्यहरू रञ्जित परियार, विनोद पाण्डे, केन्द्रीय परिषद् सदस्य ज्ञानेन्द्र निरौला, महासङ्घका सदस्य राजेन्द्र गौतम लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार