आम नागरिकलाई कोरोना खोपको व्यवस्थापन मिलाउन झापा वारको माग
(रेवतीराज घिमिरे) झापा । नेपाल वार एसोसिएसन झापा र त्यस मातहत रहेको मानव अधिकार तथा जन सरोकार समितिले कोभिड १९ को महामारीबाट नेपाली जनतालाई बाच्न पाउने सरकारसँग तत्काल खोपको व्यवस्थापन गर्न माग गरेको छ ।
मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय, प्रादेशिक तथा स्थानीय गरी तीन वटै तहका सरकारले मानवको बाच्न पाउने अधिकारको सुनिश्चितता गर्दै कोरोना महामारीबाट बाच्न र बचाउन तत्काल खोपको व्यवस्थापन गर्नुपर्ने माग गरेको हो ।
एशोसियन झापाले कोभिड महामारीको चपेटामा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको साङ्घातिक आक्रमण, खाद्य तथा स्वास्थ्य सामग्रीको उपलब्धतामा हुने गरेको कृत्रिम अभाव तथा कालोबजारी जस्ता विषयलाई तत्काल नियन्त्रण गर्न एसोसिएसन तथा जनसरोकार समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
एसोसिएसन अध्यक्ष हरिप्रसाद अधिकारी तथा सरोकार समिति संयोजक टङ्कप्रसाद दंगालद्वार हस्ताक्षेरित विज्ञप्तिमा आम नागरिकले सरकारले तोकेको स्वास्थ्य सावधानी सम्बन्धी मापदण्ड पालना गर्न अनुरोध समेत गरिएको छ ।
विज्ञप्तिमा सरकारले विपत्ति आउनु अगावै औषधी खोप अक्सिजन तथा भेन्टिलेटर जस्ता अतिआबश्यकीय वस्तुहरूको समयमै जोहो नगर्नाले आम नागरिकको आधारभूत स्वास्थ्य र बाच्न पाउने मौलिक हक प्रति गम्भीर आघात पुगेको उल्लेख छ । सरकारले कोभिड १९ सम्बन्धमा पारित गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्न सरकार तथा सरोकारवाला अस्पतालहरूलाई झापा वार एसोसिएसनले विज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।
विज्ञप्तिमा संक्रमित नागरिकको जिउ ज्यान प्रति अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी प्रति हार्दिक आभार प्रकट गर्दै महामारीको यस्तो गम्भीर अवस्थामा खाद्यान्न , इन्धन, औषधि स्वास्थ्य उपकरण जस्ता अत्यावश्यक वस्तुहरूको अभाव सृजना गरी कालो बजारी गर्नेलाई बजार अनुगमन गरी तत्काल कारबाही गर्न समेत सरकार संगजोडदार माग गर्छौ उल्लेख गरिएको छ ।
लामो समयसम्मको निषेधाज्ञाका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई पहिचान गरी उनीहरूको खाद्यान्न तथा औषधि उपचार सम्बन्धी व्यवस्था मिलाउन समेत सरकार सँग जोडदार माग गर्छौ उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सीमा नाकामा हुने आवत जावतलाई कडाइका साथ लागु गर्दै निगरानी बढाउन र आम नागरिकको जीवन रक्षाका लागि सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई प्रोत्साहित गर्दै कोभिड पीडितको आत्मावाल बढाउन समेत अनुरोध गरिएको छ । आम नागरिकले आफ्नो स्वास्थ्यको ख्याल राख्दै स्वास्थ्य सावधानी अपनाएर हिँडडुल गर्न ,भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन समेत सर्वसाधाराण समक्ष एसोसिएसनले अनुरोध गरिएको छ ।