झापामा थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु
झापा । झापामा थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बाह्रदशीका पुरुष र गौरादहका महिलाको सङ्क्रमणबाट मृत्यु भएको हो ।
बाह्रदशी गाउँपालिका ७ डाँगीवारि बजार निवासी ५४ वर्षीय बर्देवा थरका पुरुषको सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि बिर्तामोडको मनमोहन हस्पिटल पुर्याउनासाथ उनको मृत्यु भएको स्वास्थ्य शाखाका राम शाहले जानकारी दिए । योसँगै बाह्रदशीमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।
त्यस्तै गौरादह ३ गौरीगाउँकी ६० वर्षीया महिलाको शुक्रवार बेलुका साढे ५ बजे विराटनगरको कोसी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गौरादह नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । मृतकमा मधुमेहको पनि समस्या रहेको थियो । योसँगै गौरादहमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।