२०८३ बैशाख १५ गते , मंगलबार

सेवानिवृत्त भएका मेची अस्पतालका मेसु डा.ठाकुरलाई भव्य बिदाइ

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २६ गते , बुधबार
सेवानिवृत्त भएका मेची अस्पतालका मेसु डा.ठाकुरलाई भव्य बिदाइ

झापा । मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पीताम्बर ठाकुर आजदेखि सेवानिवृत्त भएका छन् ।  २०६० साल जेठ महिनामा कन्सल्टेन्ट फिजिसियनका रुपमा जिम्मेवारी समाल्न आइपुगेका डाक्टर ठाकुर वरिष्ठ कन्सल्टेन्ट फिजिसियन पार गर्दै प्रमुख कन्सल्टेन्ट फिजिसियनका रूपबाट २०७० साल चैत महिनादेखि तत्कालीन मेची अञ्चल अस्पताल भद्रपुरको मेडिकल सुपरिन्टेन्डेन्टको रुपमा कार्यरत थिए ।

६० वर्षीय डाक्टर ठाकुर उमेरका कारण बुधवारदेखि सेवानिवृत्त भएका हुन् । सेवानिवृत्त भएका डा. ठाकुरलाई अस्पतालका चिकित्सक र कर्मचारीलाई आज एक सक्षप्ति कार्यक्रमको आयोजना गरी भव्य रुपमा बिदाइ गरेका छन् । साथै आजै डा. ठाकुर जन्मदिन परेकोले अस्पतालमै केक समेत काटिएको थियो । ७ वर्ष १ महिना २६ दिनसम्म उनले सफलतापूर्वक मेची अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी पूरा गरेका थिए ।

तर, उनले १८ वर्षसम्म यस अस्पतालको विभिन्न जिम्मेवारीमा रहेर अनवरत सेवा दिइरहेका थिए । झापामा जेनेरल फिजिसियनको सेवा सुरु गर्ने ‘पहिलो’ चिकित्सक पनि हुन्– डा। पीताम्बर ठाकुर । २०५० सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट एमबिबिएस अध्ययनपश्चात् उनी मोरङको मङ्गलवारे प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्नो जिम्मेवारी सम्हाल्न आएका थिए । त्यहाँ बस्दा पनि उनले निक्कै बिरामीको उपचार गरे ।

नहाँसी नबोल्ने, आफ्नोमा उपचारका लागि आउने हरेक बिरामीसँग निक्कै मिठो बोल्नेलगायतका उनको व्यक्तिगत स्वभावका कारण धेरै बिरामीहरू उनीसँग उपचारका लागि पुग्ने गर्छन् । मोरङको मङ्गलवारे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रहेकै बखत स्नातकोत्तर तह अध्ययन गरिसकेपछि डा। ठाकुर मेची अस्पताल आएका हुन् । मोरङको मङ्गलवारे प्राथमिक स्वास्थ्य केन्द्रबाट भद्रपुर आउने क्रममा मंगलबारेवासीले निक्कै दुःख व्यक्त गरेका थिए ।

अहिले पनि त्यस क्षेत्रबाट डाक्टर ठाकुरसँग उपचार गराउनकै लागि मेची प्रादेशिक अस्पताल भद्रपुर र निजी क्लिनिकसम्म बिरामी आउने गरेका छन् । उहिले र अहिलेको भद्रपुर अस्पतालको तुलना गर्दा उनी आफै छक्क पर्छन् । झन्डै दुई दशकसम्म उनले झापालगायत पूर्वी पहाडी जिल्लाका धेरै रोगीको उपचार गरेकै कारण धेरै जनासँग सम्बन्ध राम्रो भएकाले उनी झापामै रहेर सेवा दिने सोचमा छन् ।

१८ वर्ष अघि ‘इन्टरनल मेडिसिन’मा एमडी गरेर मेची अस्पतालमा सेवा दिनका लागि आउँदा निक्कै समस्या रहेको स्मरण मानसपटलमा ताजै रहेको उनी बताउँछन् । सुविधा सम्पन्न अप्रेसन थिएटर थियो, बेहोस गर्ने ९एनेस्थेटिक० डाक्टर नभएका कारण जटिल त के सामान्य शल्यक्रिया समेत हुँदैन थियो ।

कुनै पनि विज्ञ चिकित्सक उक्त अस्पतालमा टिक्दैन थिए । उनमा मेची अस्पतालमा आउँदा उपचार व्यवस्था कसरी चुस्त बनाउने भन्ने चुनौती थियो । त्यो बेलाको अवस्थाको स्मरण गर्दै डा। ठाकुर भन्छन्– ‘म आएपछि पनि धेरै डाक्टरहरू आउनु भयो तर, दुई दिनमै छोडेर जानु भएको अवस्था पनि थियो ।’ अहिले कोभिड १९का महामारकिा बखत पनि उनले अस्पतालभित्र २५ शय्याको एचडीयु, अस्पताल परिसर र कनकाई नगरपालिकाभित्र गरेर दुई वटा पीसीआर मेसिन सञ्चालन, अस्पतालमा आइसियु हेमाडाइलोसिस, अल्ट्रासाउन्ड, इसीजी, चौबिसै घण्टा प्रयोगशाला, एक्स–रे, बेहोस गर्ने डक्टरको व्यवस्थापन गरेर शल्यक्रिया, ओएसटी फार्मेसी अस्पतालभित्र अक्सिजनको व्यवस्थालगायतका थुप्रै सुधारका काम गरेर उनले लोकप्रियता कमाएका छन् ।

प्रारम्भमा एउटा सानो भवनमा सामान्य ‘क्लिनिक’ जस्तो रुपमा रहेको उक्त अस्पतालले अहिले अस्पतालको आकार लिएको छ । पछिल्लो समयमा उनले नै मेची अस्पतालको प्रशासनिक कामको नेतृत्व गरेका थिए । जुन बेला उनी मेची अस्पताल भद्रपुरमा जेनेरल फिजिसियनको रुपमा काम गर्न आइपुगे त्यो बेला झापावासीले साँच्चिकै चिकित्सक कस्ता हुन्छन्, कमै देखेका थिए । अस्पताल भने पनि त्यो बेला प्रयोगशालाको राम्रो व्यवस्था थिएन । भिडियो एक्स–रे, सामान्य शल्य चिकित्सा, ई सिजी गर्ने व्यवस्था नहुँदा चिकित्सकहरू मेची अस्पतालमा बस्नै नमान्ने गरेको अवस्थामा डा. ठाकुरले अनवरत १८ वर्ष सेवा दिए । तर, अस्पतालबाट बिदा लिए पनि उनले बाचा गरेका छन्– झापा नछाड्ने । झापा छोडेर कतै नजाने बचन दिएका छन् । यहीँ बसेर मेरो क्षेत्रलाई योगदान दिन्छु, बिरामीको सेवा गर्छु– उनले भने ।

उनका अनुसार अहिले मेची अस्पतालमा चिकित्सकहरू टिक्नेसम्मको वातावरण बनेको छ । २०६२÷०६३ को जनआन्दोलनको बेलामा डा। ठाकुरले देखाएको सक्रियता झापावासीले अहिले पनि बिर्सेका छैनन् । २०६३ साल वैशाख ६ गतेको गोली काण्ड सकिएपछि मेची अञ्चल अस्पताल खचाखच थियो । घाइतेहरूको उपचारमा अस्पतालका चिकित्सक लगायत सबै कर्मचारी लागेका थिए । तर, उनीहरूको अनुहारमा एक प्रकारको त्रास थियो । कतै अस्पतालमा पनि सेना आइपुग्ने हो कि भन्ने । उपचारमा संलग्न डा. ठाकुरका अनुसार चिकित्सकहरूलाई पनि प्रशासनबाट उत्तिकै दबाब थियो– डा। ठाकुर सम्झन्छन्– ‘त्यस्तो अवस्था कहिले पनि नआओस् अबका दिनमा । त्यो मेरो सेवाका दिनहरूमा सम्झन योग्य घटनाको रुपमा लिन्छु ।

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा जन्मिएको भए पनि उनले झापाको भद्रपुरमै घर बनाएका छन् । त्यसैले पनि झापा नछोड्ने उनले बताए । उनले भने– ‘सेवानिवृत्त पश्चात कतै अध्यापनतिर पनि लाग्नुपर्ला १ मेरो क्षेत्रमा सक्रिय नै रहन्छु । सकुञ्जेल बिरामीको सेवा गर्छु ।’

सम्बन्धित समाचार