२०८३ बैशाख १९ गते , शनिबार

झापामा संक्रमितको संख्या लुकाइएको खुलासा, ६० जना संक्रमितको रिपोर्ट गायव !

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३० गते , आईतबार
झापामा संक्रमितको संख्या लुकाइएको खुलासा, ६० जना संक्रमितको रिपोर्ट गायव !

झापा । पछिल्लो केही दिनमा झापामा कोरोना भाइरसको संक्रमणमा कमी आइरहेको छ । तर, वास्तविकतामा संक्रमितको संख्यामा कमी आएको भन्नेबारे आशंका गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गर्ने गरेको पछिल्लो तथ्यांक र संक्रमितको संख्यामा सम्बन्धित निकायले नै लुकाउने गरेको खुलासा भएको छ । यसको प्रमाण विभिन्न सञ्चारमाध्यम र सम्बन्धित निकायका प्रमुखले सामाजिक सञ्जालमा दिएको कमेन्टले पनि पुष्टि गरेको छ ।

शुक्रबार सार्वजनिक तथ्यांकअनुसार झापामा १४०७ जना निको भएर घर फर्किएको तथ्यांक झापाका कोभिड फोकल पर्सन जीवन चम्लागाईले सार्वजनिक गरेका थिए । सोही तथ्यांकमा १२६ जनामात्र संक्रमित भएको उल्लेख थियो ।

तर, सोही दिन दमकमा ६० जना संक्रमित भएको दमक नगर शाखाले जनाएको थियो । नगरपालिकाको स्वास्थ्य शाखाले कूल १४० जनाको स्वाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । त्यसमध्ये शुक्रबार ६० जनामा कोरोनाको दोश्रो भेरियन्ट प्रमाणित भएको हो ।

तर, त्यसको रिपोर्ट स्वास्थ्य कार्यालयले शनिबार पनि सार्वजनिक गरेको छैन । शुक्रबार नै रिपोर्ट आइसकेर दमक नगरपालिकाले स्वास्थ्य कार्यालयलाई पठाएको थियो । तर, स्वास्थ्य कार्यालयले शुक्रबार दमकमा २ महिलासहित ७ जना मात्र संक्रमित भएको तथ्यांक दिएको थियो ।

शनिबारको तथ्यांकमा पनि ती संक्रमित समेटिएनन् । शनिबार दमकमा ३ महिलासहित १३ जना मात्र संक्रमित भएको जानकारी दिइयो । आफूले शुक्रबार नै दमकमा ६० जना संक्रमित भएको रिपोर्ट स्वास्थ्य कार्यालयलाई पठाएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

‘मैले शुक्रबार नै रिपोर्ट पठाएको हुँ’, उनले भने, ‘खोई के भएर तथ्यांकमा हाल्नु भएन ।’ यस बारेमा स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईसँग बुझ्दा उनले दमकबाट ६० जनाको रिपोर्ट आएकोबारे अनभिज्ञता प्रकट गरे ।

उनले छुटेको भए त्यसलाई आइतबारको तथ्यांकमा समेट्ने बताए । जिल्लाका पालिका र स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक कहिल्यै मिल्दैन ।

कतिपयले संक्रमण कम देखाउन परीक्षणको दायरा घटाएको र संक्रमितको सँख्या लुकाएको हुनसक्ने आशंका गरेका छन् । झापामा केही दिनदेखि संक्रमितको सँख्या घट्दै गएको देखाइएको छ । शनिबार ४५ जनामा मात्र संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै २५० जना डिस्चार्ज भएको जनाइएको छ ।

यसैबीच झापामा संक्रमितहरुको सँख्या घट्दै गए पनि संक्रमितको मृत्यु दरमा कमी आउन सकिरहेको छैन । पछिल्लो चौबीस घण्टामा झापाका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनैजना महिला रहेका छन् ।

तीनैजनाको बिर्तामोडको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो । बाह्रदशी २ की ६० वर्षिया राजवंशी समुदायकी महिलाको शनिबार बिहान मृत्यु भएको हो । सोही हस्पिटलमा मेचीनगर १३ की ६६ वर्षिया महिला र बुद्धशान्ति ४ की ७३ वर्षिया बृद्धाकोे पनि मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २९६ पुगेको छ ।

सम्बन्धित समाचार