२०८२ माघ ५ गते , सोमबार

सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन परियोजनाको मन्त्री यादवद्वारा अनुगमन 

sajilo news
पार्थ मण्डल
२०७८ असार ६ गते , आईतबार
सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन परियोजनाको मन्त्री यादवद्वारा अनुगमन 

झापा  । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राज किशोर यादवले सिलिगुडी झापा पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माण स्थलको आइतबार निरीक्षण गरेका छन् ।

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनियरिङ सर्भे पूरा गरेको छ । उनले भण्डारण गृह निर्माण स्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्त्वपूर्ण र गौरवको योजना भएको बताए । उनले प्रारम्भिक सर्भे सकिएकोले असोजदेखि सिलिगुडीको डिपोदेखि निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना जीटुजीमार्फत गर्न नेपाल सरकार र भारत सरकारबिच समन्वयको पहल भइरहेको बताए ।

उनले पाइप लाइनको माध्यमद्वारा चारआलीको भण्डारण गृहसम्म पेट्रोलियम पदार्थ आउन सुरु गरेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासी समेत रोकिने बताए ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सुरु भएको दुई वर्षभित्रमा प्रोजेक्ट सकिने बताए । परियोजना निर्माणका लागि भारतीय मूल्य सात अर्ब २ करोड लागत लाग्ने उनले बताए । मेचीनगर नगरपालिका १३ मा रहेको निगमको २३ विगाह जमिनमा भण्डारण गृह निर्माणसँगै प्रदेश नम्बर १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उनको भनाई छ ।

मन्त्री यादवले मेचीनगर—६ काँकडभिट्टास्थित नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालयको समेत स्थलगत अनुगमन गरेका थिए । समितिका कार्यकारी निर्देशक आशिष् गजुरेल र सिभिल इन्जिनियर कमलप्रसाद जोशी कार्यालय प्रमुख अम्बिका सुवेदीले मन्त्री यादवलाई सुख्खा बन्दरगाहसहित अन्य विषयमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार