२०८२ माघ ५ गते , सोमबार

इथियोपियामा हवाई हमला, कम्तिमा ६० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार १० गते , विहीबार
इथियोपियामा हवाई हमला, कम्तिमा ६० जनाको मृत्यु

काठमाडौं । उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा दर्जनौँ मानिसहरूले ज्यान गुमाएका छन्।  इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। 

इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले आतङ्कवादीहरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ। टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए। इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ। करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन्।

मिकाइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले बीबीसीलाई कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको बताएका छन्।  उक्त सङ्ख्या अझ बढ्नसक्ने ठानिएको छ। चिकित्सकहरूले उनीहरूले हवाई आक्रमणबाट घाइते भएका दुई वर्षका एक जना बालकसहित दर्जनौँ व्यक्तिको उपचार गरिरहेको जनाएका छन्।

सम्बन्धित समाचार