२०८३ जेष्ठ ३० गते , शनिबार

पत्रकारको क्षमता विकासमा मिडिया संस्थाको भूमिका महत्त्वपूर्ण

sajilo news
पार्थ मण्डल
२०७८ असार ११ गते , शुक्रबार
पत्रकारको क्षमता विकासमा मिडिया संस्थाको भूमिका महत्त्वपूर्ण

झापा । पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर अघि बढ्ने प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

मिडिया एक्सन नेपाल प्रदेश–१ द्वारा आयोजित कोभिड महामारी र पत्रकारको पेसागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारको पेसागत सुरक्षाका लागि प्रदेश सरकारले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले मिडियाको विकासका लागि प्रदेश सरकारले सबैसँग सहकार्य गर्ने भन्दै मिडिया एक्सन नेपालसँग  हातेमालो गर्न तयार रहेको बताए ।

उनले कोरोना कहरको समयमा पत्रकारमा परेको आर्थिक समस्यालाई मध्यनजर गर्दै फेलोसिपको व्यवस्था गरेर सहयोग गरेको बताए । प्रदेश–१ मा प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारको क्षमता र दक्षता विकासका लागि पहल थालेको मन्त्री कार्कीको भनाई छ । उनले पत्रकारको पेसागत सुरक्षा तथा प्रदेश सरकारले निर्माण गर्ने मिडिया विधेयकका सवालमा मिडिया एक्सन नेपालसङ परामर्श गर्ने बताए ।

मिडिया एक्सन नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारको विषयमा मिडिया संस्था संवेदनशील हुनुपर्ने बताए । उनले मिडिया संस्थाले सरकारसँगको परनिर्भरता हटाएर आत्मनिर्भर हुदैं पत्रकारको पेसागत सुरक्षा तथा दक्षमता विकासमा ध्यान दिए मात्रै सञ्चार क्षेत्र सुदृढ हुने विश्वास व्यक्त गरे । पत्रकारको पेसागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका प्रभावकारी हुनुपर्नेमा अध्यक्ष पन्तले जोड दिए । उनले मिडिया स्वतन्त्र र निष्पक्ष नभए त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले पत्रकारलाई दक्ष र जिम्मेवार बनाउनका साथै पत्रकारिताको विकासको क्षेत्रमा मिडिया एक्सन नेपालले लामो समयदेखि काम गर्दै आएको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लीलाबल्भ घिमिरेले पत्रकारको दक्षता र क्षमता विकासमा ध्यान दिनुपर्ने बेला आएको बताए । उनले मिडिया एक्सन नेपालसङ सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । पत्रकारको पेसागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । सरकारसँगको परनिर्भरता हटाए मात्रै पत्रकारिता स्वतन्त्र हुने विचार व्यक्त गरे ।

शिक्षा पत्रकार समूहकी प्रदेश संयोजक एवम् सञ्चारिक समूह प्रदेश–१ की महासचिव राधा खनालले महिला पत्रकारको क्षमता विकासमा ध्यान दिन प्रदेश सरकार र पत्रकार महासङ्घको ध्यानाकर्षण गराइन् । उनले प्रदेश–१ का महिला पत्रकारको अवस्थाको विषयमा चर्चा गर्दै महिला पत्रकारलाई सबल र सक्षम बनाउनुपर्नेमा जोड दिइन् । उनले अझै पनि महिला पत्रकार निर्णायक तहमा पुगी नसकेको भन्दै पछिल्लो समय महिला पत्रकारहरू पनि विभिन्न अनलाइन सञ्चार माध्यम सञ्चारण गरेर आफैँ उद्यमी बन्न थालेकाले प्रदेश सरकारले प्रोत्साहन गरिनुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कोभिड महामारीमा पत्रकारको पेसागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले झापामा सञ्चार माध्यमहरूले नै पत्रकारको कोरोना बिमा गरिदिएको भन्दै पत्रकारको पेसागत सुरक्षाका लागि महासङ्घले पहल थालेको विचार व्यक्त गरे । उनले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउँदै अघि बढाउन मिडिया एक्सन नेपाल जस्ता सञ्चार सम्बद्ध संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको बताए । उनले प्रदेश सरकारले मिडियासँग सम्बन्धित कानुन निर्माण गर्दा सञ्चार मैत्री हुनुपर्नेमा जोड दिए ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्लेले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउनका लागि प्रतिष्ठानले योजनाबद्ध ढङ्गबाट काम गर्ने बताए । उनले प्रदेश–१ का पत्रकारको क्षमता विकासका लागि पहल गर्ने उल्लेख गरे । उनले मिडिया एक्सन नेपालसङ परामर्श गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

पछिल्लो समय सरकारसँगको परनिर्भरता बढ्दै गएकाले पत्रकारिता क्षेत्र स्वतन्त्र हुनेमा शङ्का उत्पन्न भएको मिडिया एक्सन नेपालका कार्यसमिति सदस्य आशिष् मिश्रले बताए । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उनले मिडियाको विकासका लागि मिडिया संस्था जिम्मेवार बन्नुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन प्रदेश–१ संयोजक नरेन्द्र ढकालले गरेका थिए । हालसम्म ६ वटा प्रदेशमा वेबिनारबाट कार्यक्रम सम्पन्न भइसकेको छ ।

सम्बन्धित समाचार