बैङ्कमा मास्क नलगाई गएका ग्राहकलाई सुरक्षा गार्डले गोली हानेपछि...
काठमाडौँ। कोरोनाभाइरसको प्रकोप बढिरहेका बेला सरकार र अन्य संस्थाहरूले मानिसहरूलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरिरहेका छन् । तर, भारतको उत्तर प्रदेशको बरेलीमा मास्क नलगाउँदा एक व्यक्तिलाई जे भयो त्यो थाहा पाउँदा तपाईँ चकित पर्नुहुन्छ । बैङ्कमा मास्क नलगाएका कारण गार्डले एक सरकारी कर्मचारीलाई गोली हानिदिएका छन् ।
बरेलीमा रेलवेका कर्मचारी राजेश बैङ्क अफ बडौदाको शाखामा गएका थिए । यस क्रममा उनले मास्क लगाएका थिएनन् । यही कुरालाई लिएर बैङ्कका सुरक्षा गार्ड र उनीबिच बहस भयो र रिसाएका गार्डले उनलाई गोली हानिदिए । आरोपी गार्डको नाम केशव भएको भारतीय मिडियाले जनाएका छन् । गार्डले राजेशको खुट्टामा गोली हानिदिएका थिए त्यसपछि बैङ्कमा भएका मानिसहरूको भागाभाग भएको थियो ।
गार्ड केशवले चलाएको गोली राजेशको खुट्टामा लाग्यो त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । बरेली पुलिसले ट्विटरमार्फत दिएको जानकारीअनुसार कुनै विषयमा बहस भएपछि केशवले ग्राहकको खुट्टामा गोली हानिदिए । पूर्वसैनिक रहेका गार्डलाई पुलिसले हत्याको प्रयासको आरोपमा पक्राउ गरेको छ । गार्डले भने सोधपुछका क्रममा आफूले जानीजानी गोली नचलाएको बताएका छन् । डिसी नेपालबाट