२०८३ असार ५ गते , शुक्रबार

व्यवस्थित बन्दै झापाकै पुरानो बजार

sajilo news
पार्थ मण्डल
२०७८ असार १८ गते , शुक्रबार
व्यवस्थित बन्दै झापाकै पुरानो बजार

(अच्युत सुबेदी) झापा । झापाका पुराना बजारहरू मध्ये गरामनि पनि एक हो, जुन अहिले बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ । शनिश्चरे, बिर्ता बजार, घैलाडुब्बा, गरामनि, भद्रपुर लगायतका बजारहरू २००७ साल अघिका बजार रहेको अग्रजहरू बताउँछन् । जस मध्ये पनि गरामनि विकासको पर्खाइमा रहेको बजार हो । प्रत्येक दसैँको नवमीमा लाग्ने सानो मेला र एकादशीमा लाग्ने ठुलो मेलाले यसको महत्त्व अझ बढाएको छ । 

त्यति मात्र हैन शक्ति पीठको रुपमा रहेको दुर्गा मन्दिर र कृष्ण अष्टमीमा खेलाइने दधीकादोले पनि गरामनिको परिचय बोकेको छ । दर्जनौँ नेता जन्माएको यो ठाउँ विकास हुन नसकिरहेको अवस्थामा अहिले आएर जनप्रतिनिधिको प्रयासमा रूप फेदै छ । थोरै लगानी गरेर बिहान बेलुकाको छाक टार्ने आधा सय भन्दा बढी व्यापारी अहिले पनि त्रिपाल टाँगेर व्यापार गर्दै छन् । उनी रुरुकै लागि भनेर अहिले वडाको पहलमा नगरपालिकाको बजेटमा बजारको सम्पूर्ण भागमा अहिले टाली ओछ्याउने काम भइरहेको छ । “ठुला व्यापारीले त सटर भाडामा लिएर व्यापार गरिरहेका छन्, एक काइँयो केरा र दुई मुठा साग बेचेर जीविकोपार्जन गर्ने साना व्यापारीको लागि केही राहत होस र भनेर कमसेकम हिलोको समस्या टरोस् भनेर टाली ओछ्याउने काम गरिएको हो” बिर्तामोड नगरपालिका ८ का वडा अध्यक्ष अजय कार्कीले भने ।

बिर्तामोड नगरपालिकाको १५ लाख रुपैयाँ बजेटमा बजार भरि टाली ओछ्याउने काम भइरहेको छ । तर, करिब १८ लाख रुपैयाँको लागतमा उपभोक्ता समितिले यसको निर्माण गरिरहेको छ । नपुगेको रकम कहाँबाट जुटाउने भन्ने तनाव पनि उपभोक्ता समितिमा छ । करिब १२ सय बर्गफिटमा फैलिएको बजार र बिचबाट निकालिएको बाटोको सबैतिर काम भइरहेको छ । “अपुग पैसाका लागि हामी नगरपालिकासँग कुरा गरिरहेका छौँ” गरामनि बजार निर्माण व्यवस्थापन समिति अध्यक्ष रणबहादुर मगरले भने, “पैसाले पुगे जति मात्रै काम गरौँ भन्दा पनि बजारमा सहमति भएन अहिले पैसाको समस्या देखिरहेको छ ।” 

हाललाई बजार मात्र हैन बजारको बिचबाट दक्षिण झर्ने बाटो स्तरोन्नतिको प्रतीक्षामा छ । लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास पर्खिएको बजार जनप्रतिनिधिको पहलमा व्यवस्थित भइरहँदा त्यसको नजिकैका बाटा, सार्वजनिक भवनको स्तरोन्नति र बजारको व्यवस्थापनमा पनि स्थानीयले आशा गरेका छन् ।

सम्बन्धित समाचार