बिर्तामोडका व्यवसायीलाई 'स्वच्छ तथा सफा मासु उत्पादन' सम्बन्धी तालिम
झापा । बिर्तामोड नगरपालिका भित्रका मासु व्यवसायीहरूको लागि आयोजित ‘स्वच्छ तथा सफा मासु उत्पादन’ विषयक दुई दिने तालिम सम्पन्न भएको छ ।
सहारा नेपाल साकोसको साझेदारीमा बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले असार १७ गते देखि आयोजना गरेको तालिम शुक्रवार सम्पन्न भएको हो ।तालिममा स्वच्छ मासु उत्पादनका लागि आवश्यक तरिका र पूर्वाधारका बारेमा सिकाइएको सहजकर्ता सहारा नेपाल साकोसका कृषि व्यवसाय इकाई प्रमुख डा.कमलेश्वर भाटले जानकारी दिनु भयो ।तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार सिवाकोटीले तालिममा सिकेको सिपलाई सही सदुपयोग गर्नु पर्ने भन्दै विषादी रहित मासुमा जोड दिन सहभागीहरूलाई आग्रह गर्नु भयो ।
तालिममा बिर्तामोड नगरपालिकाको सबै वडाबाट १४ जना मासु व्यवसायीहरूले सहभागिता जनाएका थिए ।तालिम समापन कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार सिवाकोटी,पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,प्राविधिक विष्णुप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो । बिर्तामोड नगरपालिकाले सहारा नेपाल साकोसको साझेदारीमा कृषि तथा आवास सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।