भद्रपुरको १० वटै वडामा खोप केन्द्र राख्ने, यस्तो छ खोप लगाउने कार्यतालिका
झापा । भद्रपुर नगरपालिकाले १० वटा वडामै खोप केन्द्र राख्ने निर्णय गरेको छ । यसअघि कोरोना खोपको विषयमा भद्रपुरका जनप्रतिनिधिबिचै लफडा भएपछि सोमबार स्वास्थ्यकर्मीहरुसँग गरेको छलफलमा यस्तो निर्णय गरेको हो । नगरपालिकाले १ देखि १० नम्बरसम्मका वडामा खोप केन्द्र तोकेको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।
सरकार र स्वास्थ्य कार्यालय झापाले तोकेको मापदण्ड अनुसार ५० देखि ५४ वर्षका र अपाङ्गता परिचयपत्र (क) र (ख) वर्गलाई अमेरिकाको जोनसोन एन्ड जोनसोन खोप लगाइने भएको छ । नगरपालिकाले दुई चरणमा खोप लगाउने निर्णय गरेको छ । पहिलो चरणमा साउन २० र २१ गते पृथ्वीनगर स्वास्थ्य चौकी भद्रपुर-१, २ नम्बर वडा कार्यालयको भवन, महेशपुर स्वास्थ्य चौकी भद्रपुर-३, आधारभूत स्वास्थ्य केन्द्र भद्रपुर-४ र चन्द्रगढी स्वास्थ्य चौकी भद्रपुर-९ स्थान तोकिएको छ ।
त्यस्तै दोस्रो चरणमा साउन २२ र २३ गते सहरी स्वास्थ्य क्लिनिक भद्रपुर -५, ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र भवन भद्रपुर-६, एमसिएच क्लिनिक भद्रपुर-८, ७ नम्बर वडा कार्यालयको भवन र १० नम्बर वडा कार्यालयको भवन रहेको छ । खोप लगाउने नागरिक उमेर खुल्ने प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खोप व्यवस्थापनमा जिम्मेवार बनाउने र जनसङ्ख्याको आधारमा खोप नगरपालिका स्वास्थ्य शाखामा उपलब्ध गराउने र थप खोप व्यवस्थापनका लागि सम्बन्धित निकायसँग माग गर्ने निर्णय समेत गरेको छ । वडावासीले आफू पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउने पाउने जनाइएको छ ।
नोट : यसअघिको समाचारमा राजनीतिकदलहरुलाई समेत खोप लगाउने भनिएको शब्द भुलबस समावेश भएकोले सच्याइएको छ । सम्पादक