२०८२ माघ ५ गते , सोमबार

तेस्रो लहरको कोरोना त्राससँगै झापामा धमाधम बन्दै होल्डिङ सेन्टर

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २५ गते , सोमबार
तेस्रो लहरको कोरोना त्राससँगै झापामा धमाधम बन्दै होल्डिङ सेन्टर

(पार्थ मण्डल) झापा । अहिले नेपालसहित विश्वभर कोरोना भाइरस (कोभिड–१९)को डेल्टा भेरियन्ट र अल्फा भेरियन्ट देखा परेको छ । जसले गर्दा नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन लागेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिइसकेको छ । भारतसँग जोडिएका तराईका सीमावर्ती जिल्लाहरूमा कोरोनाको तेस्रो लहर रोक्न अहिले सीमा नाकाहरूमा उच्च स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन थालिएको छ । 
सोही मापदण्ड अनुसार संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले झापामा धमाधम होल्डिङ सेन्टर निर्माण गरिँदैछ । पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट स्वदेश फर्किने नागरिकका लागि मेचीनगर नगरपालिका– १४ ढुवागढीस्थित हडिया खोला नजिकैको सरकारी खाली जमिनमा एक हजार क्षमताको होल्डिङ सेन्टर धमाधम निर्माण हुँदैछ । 
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति ९डीसीसीएमसी०को बैठकले हडिया खोला नजिकैको दक्षिणतर्फको खाली चार बिगाहा जमिनमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम असार १७ गतेदेखि निर्माण कार्य सुरु भएको नयाँ श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिए । 
करिब २२ करोड रुपैयाँको लागत बन्ने होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन काठमाडौँले लिएको छ । बन्न लागेको होल्डिङ सेन्टर फेब्रिकेटेड प्रविधियुक्त भवन हो ।  ‘नेपाली सेनाको रोहबरमा बन्ने होल्डिङ सेन्टरमा १० देखि १२ वटा भवन बन्छ,’ प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने, ‘सेन्टरको निर्माण कार्य तीन महिना भित्र सक्नुपर्ने हुन्छ ।’ सोही अनुसार धमाधम निर्माण कार्य भइरहेको उनले बताए ।  
सुरुमा होल्डिङ सेन्टर निर्माणका लागि मेचीनगर–७ स्थित नयाँ बसपार्क क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो । बसपार्कमा उक्त जग्गा अपुग हुने देखिएकोले अर्को स्थानको खोजी गर्ने क्रममा ढुवागढीको जमिन फेला परेपछि कामले तीव्रता पाएको नयाँ श्रीनाथ गणका प्रमुख सेनानी थापाको भनाई छ ।  अहिलेसम्म ३५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै प्रमुख सेनानी थापाले भने, ‘भवनको फाउन्डेसनको काम लगभग सकिसकिएको छ, दैनिक २ सय मजदुरले काम गरिरहेको छ, भदौ मसान्तसम्म काम सम्पन्न गर्ने निर्माण कम्पनीको योजना छ ।’ सेनासहितको प्राविधिक टोलीको प्रत्यक्ष निगरानीमा निर्माण कार्य भइरहेको उनले बताए ।  
सीमा नाका नजिकै यत्रो क्षेत्रफल भएको जमिन नपाइएको गुनासो आएपछि मेचीनगर नगरपालिकाले सो जमिन उपलब्ध गराएको मेचीनगर नगरपालिका– १४ का वडा सदस्य एवम् होल्डिङ सेन्टर रेखदेख समितिका संयोजक लाल महत मियाले जानकारी दिए  विगतमा हडिया खोला बगेको करिब ११ बिगाहा जमिन वडा कार्यालयले संरक्षण गरेर राखेको थियो । 
सोही जमिनको चार बिगाहा होल्डिङ सेन्टर निर्माणका लागि दिइएको उनको भनाई छ । पहिलो लहरमा नेपाली सेनाले आफै सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गरेको थियो । तर यस पटक सरकारले झापासहित तराईका आठ वटा नाकामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण गर्दैछ । 
काँकडभिट्टा नाकादेखि होल्डिङ सेन्टरको दुरी करिब १२ किलोमिटर रहेको छ । सीमा नाका खुलाएपछि काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने नागरिकलाई सोजै होल्डिङ सेन्टरमा ल्याउने र त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण गरेर मात्र सम्बन्धित जिल्ला वा गन्तव्यतर्फ पठाउने प्रजिअ तिमिल्सिनाले बताए । खुला सीमा कारण देशभर कोरोना संक्रमण फैलिएकोले सीमामै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने सरकारको अबको योजना रहेको उनको भनाई छ । 
यता झापामा दैनिक २ सय बढी संक्रमित थपिँदै गएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले साउन ३२ गतेसम्म निषेधाज्ञा लगाएको छ । खाद्यान्न, तरकारी, फलफूल पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खुला गरिएको छ, भने अन्य पसलहरू बन्द गरेको छ । लामो तथा छोटो दुरीका यातायातका सवारीसाधन चल्न दिँदा निषेधाज्ञा प्रभावकारी हुन नसकेको जनगुनासो छ । 

सम्बन्धित समाचार