झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने फाल्गुनन्द मार्गको निर्माण कार्य अलपत्र, स्थानीयलाई सधैं सास्ती
झापा । झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने फाल्गुनन्द मार्ग निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन्। ठाउँ–ठाउँमा सडक भत्किएर हिलाम्मे बन्दा सवारीसाधन गुड्ने अवस्था छैन।
निर्माण सुरु भएको झन्डै तीन दशकसम्म पनि सडक निर्माणले पूर्णता पाएको छैन। दमकदेखि रविसम्मको ४४ किलोमिटर सडकमध्ये पहिलो चरणको ६ दशमलब २ किलोमिटर सडक कालोपत्रे गर्न काठमाडौंको महालक्ष्मी–किरातेश्वर जेभीले २० करोड रूपैयाँमा ठेक्का लिएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी अनुप साउदेनले जानकारी दिए।
आर्थिक वर्ष २०७४-७५ मा लागेको ठेक्का २०७७ पुस मसान्तमा सक्नुपर्ने हो। तर, अहिलेसम्म आधा काम पनि सकिएको छैन। सडकखण्ड अन्तर्गत रतुवा खोला क्षेत्रको १० किलोमिटर सडकमा गाडी नचल्ने अवस्थामा पुगेको छ। गाडी चल्न नसकेपछि पहाडबाट तराई झर्नेहरू लामो दूरी पैदल हिँडेर गन्तव्य पुग्न बाध्य छन्। सडकमा जबरजस्ती सवारीसाधन कुदाउने प्रयास गरिँदा दुर्घटनाहरू समेत भइरहेको स्थानीयले बताएका छन्।
केही दिनअघि इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य धनबहादुर राईको सोही सडकमा मोटरसाइकल दुर्घटना परी मृत्यु भएको थियो। ३६ वर्षीय राईको सडक अप्ठ्यारो भएकै कारण मोटरसाइकल रतुवा पुल नजिकै सेते भीरमा अन्दाजी १०० मिटर तल खस्दा मृत्यु भएको सोही वडाको छिमेकी चुलाचुली गाउँपालिका-५ का धनकुमार राईले बताए।‘यो सडक ६ महिनाअघि नै सक्नुपर्ने हो,’ उनले भने, ‘समयमा सडक नबन्दा यहाँका स्थानीयले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था आयो। सडकका कारण अहिले यहाँ सबै जनता निराश छन्।’
तोकिएको समयावधि सकिएर पहिलो पटक ६ महिना म्याद थप्दा हालसम्म ४५ प्रतिशत मात्र सडकको काम सकिएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी साउदेनले बताए। निर्माण कम्पनीले हालसम्म करिब ४०० मिटर कालोपत्रे गरेर छाडेको छ। केही महिनादेखि निर्माण ठप्प छ। पहिलो पटक थपिएको म्यादको समय भदौ ९ गतेसम्म छ। निर्माण कम्पनीले पुनः एक वर्ष म्याद थप्न डिभिजन कार्यालयमा निवेदन दिएको साउदेनले बताए।
काम सक्नु भनेर निर्माण कम्पनीलाई पटकपटक लिखित र मौखिक निर्देशन दिए पनि कामलाई तीव्रता नदिएको उनले बताए। उनले भने‚ ‘डिभिजन कार्यालयले निर्माण कम्पनीलाई कारबाही गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण देखाउँदै माथिल्लो निकायले म्याद थप गरिदिँदा समस्या उत्पन्न भइरहेको छ।’
यसबाहेक अन्य दुई चरणको सडक कालोपत्रे सडकको पनि ठेक्का लागिसकेको छ। आर्थिक वर्ष २०७६-७७ मा दोस्रो खण्डको सडकको ठेक्का लुम्बिनी–गणपति जेभीले लिएको छ। १५ दशमलब २६ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालयले जनाएको छ। २०७६ फागुन २ गते ठेक्का सम्झौता भएको सडक खण्डको कालोपत्रे गर्ने कार्य ३६ महिनामा सम्पन्न गर्नुपर्ने उल्लेख छ। तर, हालसम्म सडकको काम ३० प्रतिशत मात्र सम्पन्न भएको सूचना अधिकारी साउदेनले बताए।
तेस्रो खण्डको ठेक्का पनि लुम्बिनी–गणपति जेभीले नै लिएको छ। ११ दशमलव ३० किलोमिटर सडकको ठेक्का ५९ करोड १५ लाख ३५ हजारमा सम्झौता भएको छ। उक्त खण्ड पनि तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ। उक्त सडकको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ।
दोस्रो र तेस्रो चरणको ठेक्का एउटै निर्माण कम्पनीले लिएको बताउँदै साउदेनले भने, ‘दुवै ठेक्का म्याद झन्डै २० महिना छ, सो अवधिमा निर्माण सक्नुपर्छ, त्यही अनुसार काम भइरहेको छ।’ दोस्रो र तेस्रो चरणको सडकमा हालसम्म स्टक्चर, पक्की नाला, वाल बनाउने काम गरिँदैछ। अब छिट्टै ग्राभेलको काम सुरु हुने उनले बताए। २०४९ सालतिर अकर–चतुरे–दमक मोटर बाटो नामकरण गरेर स्थानीय श्रमदानमार्फत सडक निर्माणमा स्थानीय जुटेका थिए।
त्यसपछि बजेट अभावले सो सडक बिचमै अलपत्र पर्यो। २०७४ सालमा सरकारले बजेट विनियोजन गर्दै सडक बनाउने योजना अघि सारेपछि स्थानीयवासी हर्षित भएका थिए। तर, ठेक्का लागिसकेको सडकको निर्माण कार्यले तीव्रता नपाउँदा अहिले स्थानीय फेरि निराश बनेका छन्। उक्त सडक निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्रअन्तर्गत पर्छ।